१ कार्तिक २०८३, शनिबार

गाउँमा किन पुरोहित पाइदैंन आजकल ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pandit-purohit

बेनी (म्याग्दी), २६ भदौ । धार्मिक कर्मकाण्डका लागि जिल्लामा पुरोहितहरूको अभाव हुन थालेका छन् ।

पुरोहितको अभावमा जन्म, चुडाकर्म, विवाह र मृत्यु संस्कारसमेत प्रभावित हुन थालेपछि स्थानीय चिन्तित हुन थालेका छन् ।

संस्कृत शिक्षा पढेर रोजगारी नपाइने र आधुनिक समाजसँग मेल नखाने सोचाइका साथ ब्राह्मणहरूले पनि संस्कृत पढ्न छोडेपछि जिल्लामा धार्मिक कार्य र अनुष्ठानका लागि (पुरेत) ब्राह्मणहरूको अभाव हुन थालेको स्थानीयवासीले बताएका छन् ।

बेद, उपनिषत्, पुराण, रुद्रीलगायतका ग्रन्थलाई आधार मानेर गरिने कर्मकाण्ड जन्मेदेखि मृत्यु पर्यन्त आवश्यक भएपनि पुरोहितको अभावमा समस्या उत्पन्न हुन थालेको बेनी नगरपालिका–८ का तिलक रिजालले बताउनुभयो ।

‘हिजोआज संस्कृत पढ्ने चलन नै हराउन थालिसक्यो’ रिजालले भन्नुभयो‘ संस्कृतको ज्ञान नभएका व्यक्तिहरूले कर्मकाण्ड गराउन नसक्ने हुँदा न्वारान, विवाह र मृत्युसंस्कार जस्ता नगरी नहुने कर्महरू गर्न पनि समस्या हुन थालेको छ ।’

कर्मकाण्ड गर्ने बूढापाका ब्राह्मणहरूको शेषपछि पुरोहितहरूको अभाव सुरु हुन थालेको हो । अहिले म्याग्दीमा पुराणवाचन गर्ने पण्डितको सङ्ख्या दुई तीनभन्दा बढी नरहेको र कर्मकाण्ड गर्ने पनि घट्दै गएको ब्राह्मण समाज म्याग्दीले जनाएको छ । रासस