१ कार्तिक २०८३, शनिबार

अखिल क्रान्तिकारीका अध्यक्ष हिमालले किन दिए राजिनामा ? (राजीनामा पत्रसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

HImal_Sharmaकाठमाडौं, २५ भदौ । एमाओवादीको भातृ संगठन अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले राजीनामा दिनुभएको छ ।

एमाओवादी काठमाडौं जिल्ला समितिका अध्यक्ष समेत रहन्भएका शर्माले बुधबार पार्टी अध्यक्ष प्रचण्डलाई भेटी राजीनामा बुझाउनुभएको हो ।

गत चैत्रमा भएको अखिल क्रान्तिकारीको महाधिवेशनमा जाग्रित रायमाझी र रमेश मल्लबीच नेतृत्व विवाद भएपछि पार्टीले शर्मालाई पुनः अध्यक्षको जिम्मेवारी दिएको थियो ।

‘
शर्माको राजिनामासँगै अब पार्टी नेतृत्वका सामू सहमति गरेर नयाँ अध्यक्ष चयन गर्ने वा राष्ट्रिय सम्मेलन गर्ने दुई विकल्प देखा परेको छ ।

अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष हिमाल शार्मा द्धारा बुझाइएको राजीनामा पत्र

कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष, एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
केन्द्रीय कार्यालय, पेरिसडाँडा काठमाडौँ
विषयः राजीनामा पत्रबारे
कमरेड, हाम्रो महान तथा गौरवशाली पार्टी एकीकृत नेकपा (माओवादी) को महत्वपूर्ण जनवर्गिय संगठन अनेरास्ववियू (क्रान्तिकारी) हो भन्ने कुरा सर्वविदीतै छ ।

त्याग तपस्या र वलिदानको इतिहास बोकेको र देशव्यापी संरचना फैलिएको लाखाँै लाख क्रान्तिकारी विद्यार्थीहरुको प्रतिनिधि संगठन अनेरास्ववियू (क्रान्तिकारी) को केन्द्रीय अध्यक्ष जस्तो महत्वपूर्ण पदमा रहेर आजसम्म जिम्मेवारी सम्हाल्दै आएको छु ।

नेपाली वामपन्थी – क्रान्तिकारी विद्यार्थी आन्दोलनमा आफ्नो २८ वर्षे संघर्षशील राजनितिक जीवनका विभिन्न आरोह–अवरोह पार गर्दा प्राप्त भएका मेरा ऐतिहासिक अनुभव समग्र आन्दोलनका सम्पत्ती हुन् भन्ने बुझेको छु ।

१४ वर्षको उमेरमा २०४३ मा पञ्चायती जेलमा परेदेखि आजसम्म पूर्णकालीन कार्यकर्ताको रुपमा नेपाली विद्यार्थी आन्दोलनमा निरन्तर क्रियाशील रहँदै आएको छु ।

यस बीचमा विद्यार्थी आन्दोलन र वर्ग संघर्ष को क्रममा पटक पटक गरी १० वर्ष जेल जिवन बिताएको र रिहा भएपछि पनि निरन्तर विद्यार्थी मोर्चा सम्हाल्दै बढ्नु परेको कारणले मेरो उमेरको हिसावले लामो समय विद्यार्थी आन्दोलनमा खर्च हुन पुगेको हो ।

क्रान्तिकारी विद्यार्थी आन्दोलनको मोर्चा सम्हाल्ने क्रममा २०५८ मा भएको पन्ध्राँै राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सचिव, २०६० को सोह्रैँ राष्ट्रिय सम्मेलनबाट महासचिव, २०६३ को सत्रौं राष्ट्रिय सम्मेलनमा पुनः महासचिव, २०६७ को अठारौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय अध्यक्ष र २०७० को उन्नाइसौँ राष्ट्रिय सम्मेलनमा पुनः अध्यक्षको जिम्मेवारी बहन गर्दै अएको छु । यसरी आन्दोलनको आवश्यकता बमोजिम १३ वर्ष अनेरास्ववियू (क्रान्तिकारी) को केन्द्रीय नेतृत्व तहमा रहेर जिम्मेवारी सम्हालेँ ।

पछिल्लो सन्दर्भमा, गत चैत्रमा सम्पन्न संगठनको उन्नइसौं राष्ट्रिय सम्मेलनमा नेतृत्व निर्माणमा देखिएको विविध अप्ठ्यारोका कारण आफ्नो चाहाना नहँुदा नहँुदै पनि पार्टी केन्द्रको आग्रहमा म फेरी अध्यक्षको  जिम्मेवारी सम्हाल्न बाध्य भएँ । तिन महिनापछि आफू हट्न पाउनुपर्ने सर्तमा मैले जिम्मेवारी स्वीकार गरेको कुरा स्मरण गराउन चाहान्छु ।

आज तीन महिना पनि बितिसकेको छ । यस बीचमा  म एनेकपा (माओवादी) काठमाडाँै जिल्ला सम्मेलनबाट अध्यक्षमा समेत निर्वाचित भई गत असार १५ गतेबाट जिल्ला पार्टीको नेतृत्व गरिरहेको छु । आन्दोलनमा राष्ट्रिय प्रभाव पार्ने अनेरास्व्वियू (क्रान्तिकारी) को अध्यक्ष र काठमाडाँै जस्तो सामरिक महत्व राख्ने जिल्लाको  पार्टी अध्यक्षको जिम्मेवारी सँगसँगै बढाउन मेरो समय अवश्य पुग्दैन । महत्वपूर्ण संस्थाको दुई–दुई वटा कार्यकारी पदमा रहेर बस्नु समग्र आन्दोलन निम्ती पनि फाइदाको विषयबस्तु होइन ।

तसर्थ, मैले अनेरास्ववियू (क्रान्तिकारी) को केन्द्रीय अध्यक्षको पदबाट मुक्तहुन यो राजीनामा पत्र पेश गरेको छु ।

मेरो यस कदमले नयाँ नेतृत्वको लागि सकरात्मक बाटो खुल्नेछ भन्ने ठान्दछु ।

आगामी नयाँ नेतृत्वको लागि पार्टी केन्द्र र फ्रयाक्सनले यथाशिघ्र पहल गरोस् भन्ने अनुरोध समेत गर्न चाहान्छु ।

म अनेरास्ववियु (क्रान्तिकारी) को अध्यक्ष नरहे पनि पार्टीको तर्फबाट विद्यार्थी फ्रयाक्सन कमिटीको सदस्य र निवर्तमान अध्यक्षको हैसियतले आगामी दिनमा विद्यार्थी मोर्चालाई आवश्यक सहयोग गरी नै रहनेछु । साथै  क्रान्ति र परिवर्तनको लागि मेरो बाँकी जीवन पार्टीमै समर्पित रहने प्रतिवद्धता समेत व्यक्त गर्न चाहान्छु ।

क्रान्तिकारी अभिवादन सहित ।
हिमाल शर्मा

अध्यक्ष
२०७१ भाद्र २५
बोधार्थः
१) अनेरास्ववियू (क्रान्तिकारी), केन्द्रीय कार्यालय बागबजार, काठमाडौँ ।
२) बिद्यार्थी फ्रयाक्सन इन्चार्ज, क. देवेन्द्र पौडेल ‘सुनिल’ ।