रत्ननगर (चितवन), २४ भदौ । पूर्वी चितवनको पदमपुर–८ दुईसय बिगाहकी एक महिलालाई जबर्जस्ती विवाह गराइदिएको आरोपमा रत्ननगर प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
आफ्नो घर आएका भदैनी ज्वाइँसँग अनैतिक कार्य गरेको अरोप लगाई स्थानीयले एकल महिलासमेत रहेकी ती महिलालाई जबर्जस्ती बिहे गराइदिएको स्थानीयले आरोप लगाएका छन् ।
इलाका प्रहरी कार्यालय रत्ननगरले घटनाका आरोपीमध्ये ६ जनालाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडि बढाएको मंगलबार जानकारी दिएको छ ।
घटनामा किटानी जाहेरी परेका १७ जनामध्ये प्रविता गोले, बुद्धिमाया विक, सरस्वती ब्लोन, वीरबहादुर सिंतान, पदमबहादुर तामाङ, ऋषिराम मरहट्ठालाई प्रहरीले पक्राउ गरी कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूले विवाह गरेको कागज बनाई हस्ताक्षर गरेका छन् ।
अन्य किटानी जाहेरी परेकाहरूको खोजीकार्य भइरहेको समेत प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा महिला अधिकारकर्मीहरूले हदैसम्मको कानुनी कारबाही गर्न माग गरेका छन् । रासस















प्रतिक्रिया