काठमाडौँ, २३ भदौ । पुँजी बजारको सुधार तथा विस्तारका लागि नेपाल स्टक एक्स्चेञ्जको निजीकरण र धितोपत्र बोर्डलाई सशक्त बनाउनुपर्नेमा सरोकार भएकाहरुले जोड दिएका छन् ।
नेपाल इन्भेस्र्टस फोरमले राजधानीमा गरेको कार्यक्रममा सञ्चालनमा आउन लागेका सामूहिक लगानी कोष तथा अन्य सङ्गठित लगानीकर्तालाई धितोपत्र बजारमा प्रवेश गराउन सुझाव दिँदै फोरमका अध्यक्ष राजकुमार तिमिल्सिनाले खुला अर्थतन्त्र भएका मुलुकमा सेयर तथा पुँजी बजारलाई अर्थतन्त्रको मेरुदण्डका रुपमा स्थापित गरी आर्थिक उन्नति गर्न सकिने बताउनुभयो । उहाँले सरकारले केन्द्रीय बैङ्कलाई पुँजी बजारप्रति उतरदायी बनाउन आवश्यक नीति ल्याउनुपर्नेमा पनि जोड दिनुभयो ।
फोरमका महासचिव बच्चुराम रिमाल तथा व्यवसायी आत्माराम घिमिरे र राजन लम्सालले देशको पुँजी बजारलाई एउटा सशक्त माध्यमका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिँदै बजारमा उच्च तरलता तथा बैङ्क व्याजदर घट्दो क्रममा रहे पनि हल्लाका भरमा बजार घटिरहेकाले लगानीकर्तालाई त्यसतर्फ विश्वस्त हुन आग्रह गर्नुभयो ।
ब्रोकर एसोसिएसनका अध्यक्ष नरेन्द्र सिंजापतिले उत्पादनमूलक उद्योग र सेवामूलक व्यवसाय तथा कम्पनीलाई पनि अविलम्ब सो बजारमा भित्र्याउने र सर्वसाधारणलाई अनिवार्य सेयर जारी गर्नुपर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।
पछिल्लो एक महिनादेखि पुँजी बजारको कारोबारमा गिरावट आएको र बजारमा करिब २४० कम्पनी सूचीकृत रहेको तथा करिब १० खर्ब रुपैंया बराबरको बजार पुँजीकरण भएको बताइएको छ । रासस














प्रतिक्रिया