१ कार्तिक २०८३, शनिबार

एमाओवादी विवाद: बाबुराम भट्टराईले खोले गृहजिल्लामा छुट्टै सम्पर्क कार्यालय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-baburam

गोरखा बजार, २३ भदौ । केही समयअघि समानान्तर जिल्ला कमिटी गठन गरेको एमाओवादी नेता बाबुराम भट्टराईको गृह जिल्ला गोरखाका कार्यकर्ताले छुट्टै पार्टी कार्यालय पनि सञ्चालनमा ल्याएका छन् ।

आफूलाई संस्थापन एमाओवादी दाबी गर्दै भट्टराई विचार समूहले हरमटारीस्थित जिविसचोक अगाडि पार्टी कार्यालय सञ्चालनमा ल्याएका हुन् ।

प्रचण्ड विचार समूहका जिल्लास्तरीय नेताले आफूहरुलाई निषेधको राजनीति गरेकाले बाध्य भएर समानान्तर जिल्ला कमिटी गठन गरेको बताउँदै आएको भट्टराई विचार समूहले सोमबारदेखि विधिवत् रुपमा पार्टी कार्यालय सञ्चालनमा ल्याएको जनाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईबीच बढेको वैचारिक मतभेद अन्त्य गर्ने सहमति भए पनि गोरखामा भने दुई पक्षबीच गहिरो मतभेद छ । केन्द्रमा पार्टी नफुटे पनि भट्टराईकै गृह जिल्ला गोरखामा भने छुट्टाछुट्टै पार्टी कार्यालय सञ्चालनमा आएको छ ।

नेता भट्टराईले संविधानसभा निर्वाचनमा गोरखा क्षेत्र नं १ बाट विजयी हासिल गरेपछि संविधानसभा सदस्यको कार्यालयको नामले छुट्टै कार्यालय सञ्चालनमा थियो । एमाओवादी भट्टराई समूहले संविधानसभा सदस्यको सम्पर्क कार्यालय लेखेको बोर्डभन्दा माथि पार्टी कार्यालय लेखेर बोर्ड झुन्ड्याएको छ ।

भट्टराई विचार समूहका समानान्तर एमाओवादीका जिल्ला सचिव रमेश पोखरेलले केन्द्रमा पार्टी एक रहे पनि गोरखाको आवश्यकतालाई ध्यान दिएर छुट्टै पार्टी खोलेको बताउनुभयो । “छुट्टै पहिचान दिन पार्टी कार्यालय खोलेका हौँ” उहाँले भन्नुभयो, “गोरखाको आवश्यकताको आधारमा पार्टी कार्यालय खोलियो ।” पोखरेललाई एमाओवादी प्रचण्ड विचार समूहले समानान्तरतर्फ लागेको भन्दै साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गरिसकेको छ । पोखरेल प्रचण्ड विचार समूहले गठन गरेको जिल्ला कमिटीको सहसचिव थिए ।