काठमाडौँ, २३ भदौ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले नेपाली जनताको चाहनाअनुरुप राजनीतिक दलहरु नयाँ संविधान निर्माणमा जुटिरहेको बतउनुभएको छ ।
संविधान निर्माणका लागि राजनीतिक दलहरु सहमति, सहकार्य र एकताका माध्यमबाट अगाडि बढिरहेको उल्लेख गर्दै उहाँले यस क्रममा दलहरुबीचमा देखिएका केही असहमतिलाई संवादका माध्यमबाट हल गर्ने प्रयाससमेत भइराखेको बताउनुभयो ।
विश्व प्रजातान्त्रिक युवा सङ्घद्वारा सोमबार राजधानीमा आयोजित छलफल कार्यक्रममा उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनहरुमा युवा वर्गले नेतृत्वदायी भूमिका निर्वाह गरेको चर्चा गर्नुभयो ।
वरिष्ठ नेता नेपालले समयमै संविधान जारी गर्नका लागि युवा वर्गले दलहरुलाई सचेत बनाइराख्नुपर्ने आवश्यकतासमेत औल्याउनुभयो ।
‘एसियामा शान्ति र विकासका लागि युवा’ भन्ने नाराका साथ आयोजित दुई विश्व प्रजातान्त्रिक युवा सङ्घको एसिया प्रशान्त क्षेत्रीय बैठक आइतबार काठमाडौंमा सम्पन्न भएको थियो ।
विश्व प्रजातान्त्रिक युवा सङ्घका उपाध्यक्ष गिरिस फोन्डेले एसिया प्रशान्त राष्ट्रका युवाले यस क्षेत्रमा आतङ्कवाद अन्त्य गर्दै शान्ति स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा राख्नुभयो ।
विश्व शान्ति र भ्रातृत्वका लागि नाजीवाद र फाँसीवादका विरुद्ध लड्न सन् १९४५ मा लन्डनमा उक्त सङ्घको स्थापना भएको थियो ।
कार्यक्रममा तरुणदलका अध्यक्ष उदयशम्शेर राणाले सकारात्मक परिवर्तनका लागि युवाले खेलेको भूमिकाका बारेमा चर्चा गर्नुभयो । रासस
















प्रतिक्रिया