काठमाडौँ, २२ भदौ । नवौँ महाधिवेशनको सात महिनापछि अन्ततः डेमोक्रेटिक लयर्स एसोसिएसन(डिएलए) दुई समूहमा विभाजित भएको छ ।
गत फागुनमा नेपालगन्जमा सम्पन्न नवौँ महाधिवेशन बहिस्कार गरेको समूह राजधानीमा विशेष महाधिवेशन गरी नयाँ नेतृत्व सम्हाल्ने तयारीमा छ ।
नेपालगन्जमा भएको महाधिवेशनले अधिवक्ता गोपालकृष्ण घिमिरेको अध्यक्षतामा कार्यसमिति गठन गरेको थियो भने सो महाधिवेशनमा असन्तुष्ट समूहले समयमै मतदाता नामावली नदिएको, अधिवक्ताको प्रमाणपत्र नलिएका तथा अधिवक्ता भएको तीन वर्ष ननाघेकालाई विधानविपरीत मतदाता बनाएकाले अधिवेशन स्थगन गर्न सम्बन्धित पदाधिकारीलाई आग्रह गर्दा पनि बेवास्था गरेको भन्दै निर्वाचन बहिस्कार गरेको थियो ।
नेपाली काँग्रेसले शनिबार विज्ञप्ति जारी गरी अधिवक्ता घिमिरे अध्यक्ष रहेको डिएलए आधिकारिक हो भनिसकेको छ ।
पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनको आइतबार उद्घाटन गर्दै कानुनी राज्यको स्थापना, लोकतन्त्र र प्रजातन्त्रको लागि सङ्घर्षरत डिएलएको दुवै समूहबीच भोलि सम्म्मानजनक एकीकरण हुने बताउनुभयो ।
उहाँले सम्पूर्ण न्याय प्रणालीलाई स्वच्छ, निश्पक्ष, कम खर्चिलो र छिटो न्याय दिने बनाउन र न्यायाधीशलाई पनि सही बाटोमा ल्याउने न्याय परिषद्लाई सशक्त बनाउन के गर्न सकिन्छ छलफल होस् भन्नुभयो ।
काँग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले आफ्नो अधिकारका लागि पहल गर्न आग्रह गर्नुभयो ।
नेता अर्जुननरसिंह केसीले बलजफ्ती नेतृत्व हत्याउने पद्धति र प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्न आग्रह गर्नुभयो ।
अर्का नेता बालकृष्ण खाँडले देशको लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासन कायम राख्न र आफ्नै दललाई एकतामा राख्न पनि यो महाधिवेशनले सहयोग पु¥याउने धारणा राख्नु भयो । रासस

















प्रतिक्रिया