१ कार्तिक २०८३, शनिबार

गाईले नब्याउँदै दूध दियो !

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

milk-cow

म्याग्दी, २२ भदौ । नब्याएको गाईले पनि दूध देला ? सुन्दै अचम्म लाग्छ । तर, यस्तै घटना भएको छ म्याग्दीमा । म्याग्दी सदरमुकाम बेनीका किसानले पालेको एकवटा गाईले नब्याउँदै दूध दिने गरेको छ ।

मल्लाज माझफाँट–३ वारी बेनीका किसान अम्बिका र खेमबहादुर गुरुङले पालेको साढे दुई वर्षको जर्सी गाईले नब्याउँदै दूध दिएको हो । गत वैशाख १९ गते दुई वर्ष पुगेको एकपटक पनि नब्याएको गाईले जेठको १४ गतेदेखि नियमित दूध दिइरहेको कृषक अम्बिका गुरुङले जानकारी दिनुभयो । कृषक गुरुङका अनुसार २०७० माघ ५ गते कृत्रिम गर्भाधान गराइएको उक्त गाई कात्तिकमा ब्याउनेछ ।

सुरुमा दैनिक सात लिटर दूध दिएको उक्त गाईले गर्भमा रहेको बाच्छो बढ्दै गएकाले अहिले दैनिक पाँच लिटरका दरले दूध दिइरहेको छ । “पहिलो बेत पनि नब्याउँदै कल्चौरा बढेर थुन पग्रिएपछि दुहुन थालेका हौँ”–कृषक खेमबहादुरले भन्नुभयो–“यसअघि नब्याइकन दूध दिएको सुनेको पनि थिइनँ ।”

जिल्ला पशु सेवा कार्यालयका पशु स्वास्थ्य प्राविधिक सुवास रेग्मीले अपवादका रूपमा यस्तो हुने गरेको भन्दै पछि उत्पादन हुनुपर्ने हर्मोन अघि नै उत्पादन भएकाले गाईले नब्याए पनि दूध दिएको बताउनुभयो ।