२९ आश्विन २०८३, बिहिबार

रमेश खरेलका ‘ब्याची’ले बदलेको वीरगन्ज

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sarbendra-khanal

किशोर पन्थी

विरगञ्ज भन्सार लुटको सन्सार ! कुनै बेलाको चर्चित भनाई हो यो । खरदारको जागिर खाने कर्मचारी पनि करोडपति हुन सक्ने ठाउँ हो विरगञ्ज भन्सार । नक्कली नोटको तस्करीदेखि सुनचाँदी र लागुऔषधको तस्करीसम्मका लागि कुख्यात नाका हो विरगञ्ज । अपहरण, हत्या, लुटपाटमा पनि उत्तिकै कुख्यात विरगञ्ज भारतीय अपराधीहरुको पनि क्रिडास्थलका रुपमा कुख्यात थियो । त्यसमाथि फोहोरको डगुंर र अव्यवस्थीत सहरले विरगञ्जलाई साँच्चिकै कुरुप बनाएको थियो । तर अब भने विरगञ्जको स्वरुप र परिचय बदलिदै गएको छ । विरगञ्ज अञ्चल प्रहरी कार्यालयमा केही समय अगाडि सरुवा भएर गएका एसएसपी सर्वेन्द्र खनालको पहलमा विरगञ्जको स्वरुप बदलिन सम्भव भएको हो । स्थानीयबासिहरु भन्छन् –“विरगञ्ज अब पहिलेजस्तो छैन ।”

खनालले जाधुको छडी चलाएका कारण विरगञ्ज बदलिएको होइन । न त उनले रातारात कुनै चमत्कार गरेका कारण नै विरगञ्ज बदलिएको हो । उनको लगातारको मिहिनेत, साहस र अठोटका कारण विरगञ्ज बदिलएको हो । तस्करी नियन्त्रण, शान्ति सुरक्षा कायम र सरसफाइका लागि सर्वेन्द्रले गरेको प्रयास एकहदसम्म सफल भएको विरगञ्ज पुग्ने जो सुकैले पनि प्रत्यक्ष अनुभव गर्न सक्छ । उच्च राजनीतिक तहसम्म जोडिएको तस्करीलाई पनि हावाकावा पार्ने सर्वेन्द्रको हिम्मत सानोतिनो होइन । जसलाई राजधानीमा छिसिक्क केही गरेर ठूलो चर्चा कमाउने मिडयाबाजीसँग तुलना गर्न मिल्दैन । राजधानीमा रमेश खरेलले गृहमन्त्री र प्रहरी प्रशासनकै विरुद्ध बोलेर मिडियामा चर्चा कमाइरहदा विरगञ्जमा सर्वेन्द्र बाटोमा निस्केर फोहोर सोहोरिरहेका थिए, बाटो मिचेर राखेका ट्याङकी पसल धकेलिरहेका थिए, तस्कर समातिरहेका थिए, अपहरणकारीलाई हतकडी लगाइरहेका थिए । केही प्रहरी अधिकारीहरुले प्रहरी प्रशासनकै बदख्याँई गरेर चर्चा बटुलिरहदा कुरा र प्रचारबाजी होइन काम गरेर देखाउने स्वभावका सर्वेन्द्रले विरगञ्जको स्वरुप बदल्दै प्रहरीको प्रतिष्ठा बढाइरहेका थिए ।

राजस्व चुहावट र तस्करी नियन्त्रणमा सफलता

दक्षिणमा बीरगञ्ज भन्सार, उत्तरमा तातोपानी भन्सार । देशमा दुई ठूला भन्सार । देशको लागि सबैभन्दा धेरै राजस्व असुल्ने यी दुई वटै भन्सार लुटका कारण बदनाम छन् । भन्सारका कर्मचारी राजस्व असुल्नभन्दा तस्करलाई संरक्षण गर्न बढी रुची राख्छन् । भन्सारमा जसले सरुवा पाउ“छ, आर्थिक संसार उसैको हुन्छ । भन्सारका कर्मचारीले राजस्वमा ब्रहमलुट मच्याउदै आएका छन् । भन्सारमा राजस्वले ऐमानका ढाँट राखेको छ, तर त्यहा“ भन्सार नै नतिरी ट्रकहरु नेपाल छिर्ने गर्छन् । पहिले त भन्सारका कर्मचारीहरुका खल्तीमा मोटो रकम हालिदिएपछि ति ट्रकहरु नक्कली कागजपत्रका भरमा काठमाडौंसम्मै आउने गर्थे । तर अहिले भने एसएसपी सर्वेन्द्र खनालको पहलमा राजश्व चुहावट र तस्करी नियन्त्रणका लागि अञ्चल प्रहरी कार्यालय नारायणीबाट चालिएको विशेष अभियान अन्तरगत त्यस्ता गाडीहरु भटाभट समातिन थालेका छन् ।

गत सोमबार अर्थात् भदौ १६ गते अञ्चलप्रहरी कार्यालय नारायणीका प्रमुख एसएसपी सर्वेन्द्र खनाललाई प्राप्त विशेष सुराकीका आधारमा विहान सबा चार बजे तस्करले भारतबाट भन्सार छलेर ल्याएको २० लाख बराबरको सामान विशेष प्रहरी टोलीले खोजतलास गरेर पक्राउ ग¥यो । यो त पछिल्लो उदाहरणमात्र हो । सर्वेन्द्रले विरगञ्जमा भन्सारले छाडेका तस्करीका गाडी समातेर संस्थागत तस्करहरुको दोहोलो नै काढेका छन् । राजस्व छलेर नेपाल छिर्नेहरुलाई अञ्चल प्रहरी कार्यालयको पहलमा भटाभट समातेर भन्सार कार्यालयमा नै फिर्ता पठाउन थालिएपछि राजस्व संकलन पनि पाँच गुणा बढेको छ । राजस्व संकलनमा आएको यो गुणात्मक बृद्धिले सर्वेन्द्र खनालको नेतृत्वमा अञ्चल प्रहरी कार्यालय विरगञ्जले गरेको साहसिक प्रयासको पुष्टि गरिदिएको छ । राजस्व अनुसन्धान मध्यामाञ्चल क्षेत्रीय कार्यालयले आर्थिक वर्ष २०७०/७१ म अघिल्लो वर्षको तुलनामा झण्डै ५ गुणा बढी राजस्व असुलेको हो । बाराको पथलैयास्थीत कार्यालयले ३४ करोड ४५ लाख ८ सय ७२ रुपैया संकलन गरेको हो । जबकी अघिल्लो वर्ष जम्मा ७ करोड २९ लाख रुपैयामात्र संकलन भएको थियो । एकैवर्षमा झण्डै २८ करोड राजस्व बढ्नुमा अञ्चल प्रहरी कार्यालय र यसका प्रमुख खनाल जसका भागिदार छन् । किनभने गत वर्ष भारतबाट नेपालमा सामान नआएका कारण राजस्व संकलन नभएको होइन, तस्कर र कर्मचारीको खल्ती भरिएका कारण सरकारी राजस्वमा रकम थोरै जम्मा भएको हो । नेपाल प्रहरी सकृय भएर शंकास्पद गाडीहरु समातेर अनुसन्धानका लागि राजस्व कार्यालयमा पठाउने क्रम बढेपछि तस्करको खल्तीमा जाने रकम राजस्वमा जम्मा हुन थालेको हो । सुरक्षा निकायको पहलमा मात्रै २३ करोड ३३ लाख २२ हजारको सुनचाँदी बरामद गरिएकाले राजस्वमा पाँचगुणा बढी रकम थपिएको हो । राजस्व बढ्नुमा सशस्त्र प्रहरी बलको जसको भागिदार छ ।

Birgunj
वीरगञ्जको सीमा क्षेत्रमा रहेको पुरानो प्रहरी पोष्ट र सर्वेन्द्रको पहलमा निर्माण गरिएको नयाँ पोष्ट ।

Birgunj2

अञ्चल प्रहरी कार्यालय र खनालको पहलमा कहिले विरगञ्ज भन्सार कार्यालयको मुख्य नाकाबाटै भित्रिएको लाखौं मुल्य बराबरका प्रतिबन्धित औषधी नियन्त्रणमा आउने गरेको छ त कहिले भन्सार छलेका दशौं लाख रुपैया बराबरको सुपारी नियन्त्रणमा आउने गरेको छ । करोडौं मुल्य बराबरका भन्सार छलेका कपडा पनि अञ्चल प्रहरीको फन्दामा पर्दै आएको छ । भन्सार कार्यालयको मुख्य नाकाबाट प्रज्ञापनपत्र विनै सामान नेपाल भित्रिन्छन्, तर अञ्चल प्रहरी कार्यालयले झपाझप समात्छ । यो क्रम अचेल विरगञ्जमा निकै तीब्र भएपछि गोजी गरम गराउदै आएका भन्सारका कर्मचारीको पनि बेलाबेलामा निदहराम हुँदै आएको छ ।

नक्कली नोट , लागुऔषधी तस्करी र अपराध नियन्त्रण

भारतीय नक्कली नोट र लागुऔषधी तस्करीका लागि पनि कुख्यात नाका हो विरगञ्ज । त्यो बाहेक नेपालमा अपराध गरेर भारतमा लुक्ने र भारतमा अपराध गरेर नेपालमा लुक्ने शिलशिला पनि चर्को छ विरगञ्जमा । नक्कली नोटको तस्करी र अपराधको जालो निकै उपल्लो तहसम्म मात्र होइन कि खतरनाक स्तरसम्म नै फैलिएको अवस्थामा त्यो जालो चिर्नका लागि सर्वेन्द्रले कैची चलाउने हिम्मत गरेका छन् । नेपालमा नक्कली नोटको तस्करीको जालो अन्डरवल्र्डका कुख्यात डन दाउद इब्राहिमसम्म जोडिने गरेको छ । पाकिस्तानसँग निकट सम्बन्ध राख्दै भारतीय नक्कली नोटको तस्करीका लागि नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाउनेहरुले विरगञ्ज नाकाको पनि दुरुपयोग गर्दै आएका छन् । दाउद इब्राहिमका निकट मानिने व्यक्तिले नेपालगञ्ज र विरगञ्ज नाकाबाटै छिरेर नक्कली नोटको तस्करी गर्दै आएकोमा र छोटा राजनका निकट मानिनेहरुले यीनै नाकाबाट छिरेर दाउद निकटका व्यक्तिको हत्या गर्दै आएकोमा अपराध नियन्त्रणका लागि ल्याइएको योजनाका कारण त्यस्ता अपराधीहरु हच्किन थालेका छन् ।

हवाइमार्ग हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र स्थलमार्ग हुँदै विरगञ्जसम्म नक्कली नोटको कारोबार हुने गरेको छ भने बंगालादेशबाट समेत भारतको कोलकाता र पटना हुँदै विरगञ्जसम्म नक्कली नोटको कारोबार हुने गरेको छ । सर्वेन्द्रको नेतृत्वमा नारायणी अञ्चल प्रहरी कार्यालय विरगञ्जले नक्कली नोटको कारोबार पनि नियन्त्रण गर्दै आएको छ । जेठमा विरगञ्जको पानी ट्यांकी टोलबाट सर्वेन्द्र खनालकै कमाण्डमा नक्कली नोट बरामद गर्नुका साथै तीनजनालाई पक्राउ गरिएको थियो । अर्कातर्फ लागु औषधको नियन्त्रणका लागि पनि नारायणी अञ्चल प्रहरी कार्यालयले विशेष पहल गर्दै आएको छ । विशेष सुचनाका आधारमा गतवर्ष ८१ किलो चरेश बरामद गरिएको थियो भने सर्वेन्द्रको कमाण्डमा गएको टोलीले गत फागुनमा पर्साको निचुटाबाट ठूलो परिणाममा गाँजा बरामद गरेको थियो । लागु औषध र हतियारमुक्त क्षेत्र बनाउने अभियान अन्तरगत आफूहरु सकृय भएको एसएसपी खनालले जानकारी दिए ।

नक्कली नोटको कारोबारको सञ्जाल सानो भने छैन । र, सानो प्रयासबाट यसको पूर्ण नियन्त्रण कठिन छ । तर पनि सर्वेन्द्रको पहलले नक्कली नोटको कारोबारमा केही हदसम्म नियन्त्रण कायम भएको छ । केहीवर्षअगाडि नेपालगन्जमा मारिएका मजित मनिहारले पनि दाउदसंग मिलेर नक्कली नोटको कारोबार गरेको आरोप लागेको थियो । मजिदको सम्बन्ध पाकिस्तानसंग रहेको र दाउदको मिलोमतोमा नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाएर नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोप लागिरहेकै बेला मजितको हत्या पनि छोटा राजन समुहबाटै भएको आशंका गरिएको थियो । संचार उद्यमी जमिम शाहको हत्यालाई पनि यसै शृंखलासग जोडेर हेरिएको थियो । भारतीयहरुले उनको सम्बन्ध पनि दाउद इब्राहिमसंग भएको आरोप लगाउदै आएका थिए । यहि अवस्थामा छोटा राजन समुहले जमिमको हत्या गरेका थियो । उनको हत्या लगत्तै अर्को गिरोह युनुस अन्सारीको हत्याको योजना साथ नेपाल छिरेको बताइउको थियो । नभन्दै भारतविरोधी र पाकिस्तान समर्थक भनिने युनुसमाथि पनि जेलभित्रै गोली प्रहार भयो । धन्न युनुस बांचे । नक्कली नोटको कारोबारका कारण पक्राउ परेका अन्सारीको सम्बन्ध पनि दाउद संग भएको आरोप लाग्ने गरेकाले उनी छोटा राजन समुहमा निशानामा परेका थिए । यसरी भारतीय अपराधीहरुले नेपालमा तस्करी र अपराध गर्नका लागि भित्रबाहिर गर्ने नाकामा विरगञ्ज र नेपालगञ्ज नाका कुख्यात रहेपनि सर्वेन्द्र खनालको सकृयतामा कुख्यात अपराधीहरु पक्राउ पर्न थालेपछि कुख्यात डनका संरक्षणमा रहेका अन्तर्राष्ट्रिय अपराधीहरु पनि हच्किन थालेका हुन् । नेपालमा बसेर विहारमा अपराधिक गिरोह संचालन गर्ने वा भारतमा बसेर नेपालमा आपराधिक गिरोह संचालन गर्नेहरु त्राहिमाम भएका छन् ।

नेपाल र भारतको सिमावर्ती क्षेत्रका आपराधिक गिरोहका नायिके दिनेश सिंह पनि बाराको बलिरामपुर गाउँ नजिकै पक्राउ परेका थिए । लामो समयदेखि नेपालमा विभिन्न अपराधका घटनामा संलग्न हुँदै आएका भारतको विहारको पूर्वी चम्पारणका ३८ वर्षीय दिनेश सिंह भक्तपुरका एक बालकको अपहरण गरेर डेढ करोड फिरौती माग्ने लगायतका अपराधमा संलग्न थिए । त्यस्तै सर्वेन्द्र खनालकै योजनामा अञ्चल प्रहरी कार्यालय नारायणीको टोलीले ३ दर्जन भन्दा धेरै हत्यामा संलग्न र भारतीय प्रहरीको मोस्ट वाण्टेड सुचीमा रहेका बब्लु दुबेलाई पक्राउ गरेको थियो । नेपाल छिरेर विरगञ्ज आसपासमा लुकेर विहारमा आपराधिक गिरोह संचालन गर्ने दुबे २ दर्जन भन्दा बढी जबर्जस्ती असुलीका घटनामा संलग्न थिए । त्यो बाहेक एसएसपी सर्वेन्द्र खनाल अञ्चल प्रहरी कार्यालय विरगञ्जमा सरुवा भएदेखि भारतीय अपराधीहरुले मासिक रुपमा त्यहाँका ब्यापारीहरुबाट असुल्दै आएको रकम बन्द हुने सम्भावना देखिएपछि उद्योगपतिहरुमाथि आफ्नो आतंक कायम राख्न विभिन्न प्रयास गरेका थिए । यसै शिलशिलामा ८ वर्षीय स्लोक अग्रवाललाई विरगञ्जबाट दिउसै अपहरण गरिएको थियो । स्लोकलाई उनकै काकाले घरबाट लगी अपहरणकारीको जिम्मा लगाएका थिए । तर प्रहरी सकृयतामा स्लोकको उद्दार गरियो । उद्दारका क्रममा २ जना अपहरणकारी मारिएका थिए भने दुईजना प्रहरी घाइते भएका थिए । स्लोकलाई अपहरणमुक्त गराएकोमा उनका परिवारले एसएसपी खनाललाई रुदै धन्यवाद दिएका थिए । चारजना माओवादीको हत्यामा संलग्न भूमिगत सैन्य संगठन तराई मुक्ति मोर्चा प्रकाश समुहका कमाण्डर सुनिलदेखि गोइत समुहका सैन्य कमाण्डर चौहान सिंहसम्ममा होइन, बाराका क्षेत्र नम्बर ४ का सभासद् उम्मेदवार महमुद आलम हत्याकाण्डमा संलग्न महमुद मिया तेलीलाई पक्राउ गरेर एसएसपी सर्वेन्द्रले अपराध नियन्त्रणमा ठूलो भूमिका निभाएका छन् ।

जनचेतना र सरसफाइ अभियान

तस्करी र अपराध नियन्त्रणमा मात्र होइन, सर्वेन्द्रले जनचेतना र सरसफाइ अभियानबाट समेत वाहीवाही बटुलेका छन् । बालविवाहविरुद्ध जनचेतनामुलक कार्यक्रम संचालन गर्नका लागि सर्वेन्द्रको पहलले अहिले त्यसक्षेत्रमा निकै हदसम्म बालविवाह नियन्त्रण भएको छ । बालविवाह गराउनेलाई बाँकी नछाड्ने उनको चेतावनी र जनचेतना अभियानको प्रभावकारिता निकै उच्च रहेको छ । बालविवाह विरुद्ध संचालित नाट्य अभियानले बालविवाह विरोधी भावना जगाउन मद्दत गरेको छ । त्यस्तै सर्वेन्द्रको सरसफाइ अभियानले विरगञ्जको मुहार नै बदलिएको छ । बाटोमा जथाभावी राखिएका तुल र ब्यानरले कुरुप बनाएको विरगञ्ज अहिले धेरै गुणा सुन्दर देखिन थालेको छ । त्यस्तै बाटो हडपेर राखिएका ट्यांकी पसल र बाटो मिचेर बनाइएका छाप्राहरु पनि हटाइएकाले अहिले विरगञ्जको स्वरुप नै नयाँ भएको छ । सर्वेन्द्र भन्छन् –“कतिसम्म भने सार्वजनिक शौचालयमा रेष्टुरेण्ट समेत संचालन गरिएको थियो । हामीले सरसफाइ अभियान अन्तरगत ति सबै हटाइदियौं ।”

sarbendra-khanal1
बालविवाहविरुद्ध जनचेतना अभियान जगाउँदै ।

कहिले सभासद्लाई त कहिले नेतालाई , कहिले सडक विभागलाई त कहिले नगरपालिकालाई बाध्य बनाएर सर्वेन्द्रले विरगञ्जको मुहार बदलिदिएका छन् । छाप्रोमा संचालन भइरहेको विरगञ्ज नाकामा रहेको प्रहरी चौकीको ठाउमा सर्वेन्द्रकै पहलमा सुन्दर र सफा नयाँ चौकी बनाइएको छ । विरगञ्जको बाटोको बीचबीचमा फूल र विरुवा रोपेर हरियाली बनाइएको छ । ट्राफिक व्यवस्थापन र सरसफाइ अभियानका कारण पनि एसएसपी सर्वेन्द्र खनालको लोकप्रियता त्यस क्षेत्रमा ह्वात्तै बढेको छ । सर्वेन्द्रको साहस, हिम्मत र योजना देखेर भारतीय महावाणिज्यदूतले केही समय अगाडि भारतीय प्रहरीले नेपाल प्रहरीबाट सिक्नुपर्ने अभिव्यक्ति नै दिएका थिए ।

जनतासँग सामञ्जस्यता कायम गर्दै अगाडि बढेका कारण पनि सर्वेन्द्र विरगञ्जमा लोकप्रिय भएका हुन् । उनी विरगञ्जमा आएपछि भारतीय प्रहरीसँग कायम गरेको समन्वय पनि उल्लेखनीय छ । यस अगाडि त्यसक्षेत्रमा भारतीय प्रहरी र नेपाल प्रहरीबीचको सम्बन्ध निकै बिग्रेको थियो । सर्वेन्द्रले त्यो सम्बन्धलाई सुधारेर भारतीय प्रहरीसँग समन्वय कायम गर्दै अपराध नियन्त्रणमा बाजी मारेका छन् । तस्करी नियन्त्रण, अपराध नियन्त्रण, सरसफाई र चनचेतना जगाउने अभियानमा सकृय एसएसपी सर्वेन्द्र खनालको साहस, योजना र सृजनाशिलताबाट अन्य प्रहरी अधिकृतहरुले पनि सिक्नुपर्छ । काम कम, प्रचारबाजी बढी गर्नेहरुका लागि काम बढी , प्रचार कम गर्ने सर्वेन्द्र उदाहरणीय पात्र हुन् । सर्वेन्द्र अर्का चर्चित एसएसपी रमेश खरेलका व्याची हुन् ।

(हाल अमेरिकाबाट खसोखास साप्ताहिक प्रकाशित गरिरहेका पन्थीले केही दिन अघि स्थलगत रिपोर्ट तयार पारेका हुन् ।)