काठमाडौँ, २१ भदौ । संविधानका मुख्य विवादित विषयहरुमा सहमति जुटाउन सिंहदरबारमा बसेको प्रमुख तीन दलको बैठकले शनिवार पनि कुनै निष्कर्ष निकाल्न सकेन ।
बैठकमा दलहरु आ–आफ्नै अडानमा अडिग भएछि बैठक बिना निष्कर्ष टुंगिएको हो । बैठकपछि एमाओवादी नेता डा.बाबुराम भट्टराईले सहमति जुटाउने शनिबार अन्तिम दिन भएकाले सहमतिका लागि दिनभरि प्रयास जारी राख्ने जानकारी दिनुभयो ।
एमालेका नेता अग्नि खरेलले सहमति र असहमति भएका विषयलाई प्रतिवेदन तयार पारेर संविधानसभामा पठाउने तयारी भएको बताउनुभयो ।
यद्यपि, सहमतिको लागि दिनभर दुई पक्षीय, तीन पक्षीय र अन्य साना दलहरुसँग पनि छलफल जारी राख्ने उहाँको भनाई थियो।
संविधानसभाको कार्यतालिका अनुसार भाद्र २१ अर्थात् शनिबार (आजंं) राति १२ बजेसम्म विवादित सबै विषयमा दलहरुले सहमति गरिसक्नुपर्ने छ ।
शनिबारसम्ममा सबै विषयमा सहमति जुटाउनुपर्ने भनिए पनि विवादका मुख्य विषयहरु राज्यको पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणाली जस्ता विषयमा दलीय अडान कायमै छ ।
सहमति नजुटेमा संविधानसभाले तोकेको कार्यतालिका नै संशोधन गरेर समयसीमा बढाउने पक्षमा एओवादीसहित मधेसी दलहरु देखिएका छन् । कांग्रेस–एमाले भने प्रक्रियामै गएर विषय टुंग्याउँदै संविधानसभामा लैजानुपर्ने पक्षमा देखिएका छन् ।
















प्रतिक्रिया