काठमाडौं, २१ भदौ । राजा–महाराजाका नामबाट स्थापना भएका शैक्षिक संस्था समेत देखि नसहने एमाओवादीले पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरणको भने सकारात्मक चर्चा गरेको छ ।
अझ रमाइलो कुरा त के भने संघीयताको पक्षमा सबै भन्दा बढी वकालत गर्दै आएको एमाओवादीका नेता गोपाल किरातीले शाहले गरेको एकीकरणको खुलेर प्रशंषा गर्नुभएको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार संयुक्त राष्ट्रिय मोर्चाको संर्घषका कार्यक्रमको घोषणा गर्दै किरातीले पृथ्वीनारायण शाहले त्यतिबेला गरेको एकीकरण सकारात्मक र राम्रो भएको खुलेर चर्चा गर्नुभयो ।
‘पृथ्वीनारायण शाहको एकीकरणलाई हामीले सकारात्मक रुपमा लिन्छौं । तर, जातीय, क्षेत्रीय विविधतालाई सम्बोधन भएन,’ किरातीले भन्नुभयो, ’त्यो सामन्तवादीकरण थियो । अब नयाँ ढंगले राष्ट्रिय एकीकरण गर्नुपर्छ ।’
साथै किरातीको नेतृत्वमा रहेको मोर्चाले पहिचानसहितको संविधान जारी गर्नुपर्ने दाबी गर्दै जारी नभए आन्दोलन गर्ने घोषणा गरेको छ ।
माओवादी आवद्ध विभिन्न ३५ जातीय मोर्चासम्मिलित उक्त मोर्चाले राष्ट्रिय एकीकरणको पक्षमा देशव्यापी जनप्रदर्शन गर्ने भएको छ । त्यस्तै मोर्चाले पहिचानसहितको संविधान निर्माण गर्न दबाब स्वरुप कांग्रेस, एमालेलगायतका दललाई विरोध पत्र दिने, घेराउ गर्ने लागयतका कार्यक्रम सार्वजनिक गरेको छ ।
नयाँ संविधान पहिचानसहितको नबने आगामी माघ ९ र १० गते देशभर आम हड्ताल गर्ने मोर्चाले जनाएको छ ।















प्रतिक्रिया