काठमाडौं, २१ भदौ । नेकपा (एमाले)का पूर्वअध्यक्ष झलनाथ खनालले मुलुकको समग्र विकासका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने व्यावहारिक एवम् व्यावसायिक शिक्षा प्रणालीमा जोड दिएका छन् ।
मोर्डन कन्या कलेजको सातौँ वार्षिकोत्सव समारोहको आज राजधानीमा उद्घाटन गर्दै उनले शैक्षिक प्रणालीको सुधारसँगै अध्यापक र विद्यार्थीले पनि ज्ञान र सीप सिक्न सिकाउन उत्तिकै मिहिनेत गर्नुपर्ने बताए ।
पूर्व प्रधानमन्त्री खनालले देशको शैक्षिक विकासमा कन्या कलेजले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आधा आकाश ओगटेका महिला वर्गको चौतर्फी समृद्धि शिक्षा क्षेत्रबाटै सुनिश्चित हुने बताए ।
अब बन्ने संविधान महिलामैत्री हुने बताउँदै उनले देशमा महिला सशक्तीकरण, उनीहरुका हक अधिकारको रक्षालगायत आमजनताका चासो र अपेक्षा सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे ।
विसं २०६२/६३ को आन्दोलनमा महिलाहरुले निर्वाह गरेको भूमिकाको सराहना गर्दै नेता खनालले उक्त आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न सिङ्गो संविधानसभा लागिपरेको बताए ।
त्यस अवसरमा उनले कलेजको वार्षिक प्रकाशन ‘अनामिका’को विमोचन पनि गरे ।
कलेजका अध्यक्ष रामप्रसाद दाहालको सभापतित्वमा भएको उक्त समारोहमा सभासद् मीरा धोँजु, पूर्वमन्त्री नीलाम्बर आचार्य, कलेज सञ्चालक समितिका उपाध्यक्ष गोविन्दबहादुर थापा र प्राचार्य सवीन पोखरेलले शिक्षाको महत्वबारे आ–आफ्ना धारणा व्यक्त गरे ।
समारोहमा मेधावी छात्राहरुलाई पुरस्कार पनि प्रदान गरिएको थियो ।















प्रतिक्रिया