३० आश्विन २०८३, शुक्रबार

‘जनकपुरलाई धार्मिक पर्यटकको राजधानी बनाऔं’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Janakpurहिमांशु चौधरी

जनकपुरधाम, २० भदौ । ऐतिहासिक एवम् पौराणिक महत्व बोकेको जनकपुरलाई धार्मिक पर्यटकको राजधानीका रुपमा विकास गर्दै लैजानुपर्नेमा पर्यटन व्यवसायीहरुले जोड दिएका छन् ।

त्यसो गर्न सके मठमन्दिर एवम् सरोवरहरुले भरिपूर्ण जनकपुरमा हिन्दू धर्मावलम्बीसहित विदेशी पर्यटकसमेत आउने विश्वास उनीहरुले व्यक्त गरे ।

नाट्टा पश्चिमाञ्चल क्षेत्रीय सङ्घको फाम टुर– २०१४ कार्यक्रमअन्तर्गत यहाँ आएका पर्यटन व्यवसायीहरुको स्वागतमा बिहीबार विदेह मिथिला क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति जनकपुरले आयोजना गरेको कार्यक्रममा उनीहरुले जनकपुरलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनुपर्ने बताए ।

कार्यक्रममा नाट्टा पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष पोमनारायण श्रेष्ठले प्याराग्लाइडिङ, अल्ट्रा लाइट, डे हाइकिङ, र्‍याफ्टिङ एण्ड केयकिङको राजधानीका रुपमा पोखरालाई विकास गरिएको बताउँदै जनकपुरलाई धार्मिक पर्यटकको राजधानीका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

ऐतिहासिक एवम् पौराणिक महत्व बोकेको जनकपुर धार्मिक दृष्टिकोणले नेपालकै सबैभन्दा राम्रो स्थल रहेको उहाँले दाबी गर्नुभयो ।

पर्यटक प्रवद्र्धनमा आफूहरु सहयोग गर्न तयार छौं, उहाँले भन्नुभयो पर्यटकका लागि सुविधायुक्त सवारी प्रयोगमा ल्याइदिनुपर्‍यो । बस्ने, खानेलगायत सुरक्षाको सवालमा पनि गम्भीर भएर लाग्नुस् । जनकपुरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरेर देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिने उहाँले बताउनुभयो ।

सरसफाइको दृष्टिकोणले निकै पछाडि परेको जनकपुरवासीले यस क्षेत्रमा बढी ध्यानदिनुपर्ने आवश्यक्ता देखिएको छ, पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले पाँच दिवसीय भ्रमणमा रहेका पर्यटन व्यवसायीहरुले बताए ।

भ्रमणको पाँचौँ दिन बुधबार जनकपुर आइपुगेका २८ जनाको पर्यटन व्यवसायीको टोलीले ऐतिहासिक धरोहर जानकी मन्दिरलगायतका मठमन्दिरको दर्शनपूजा गर्दा अलग प्रकारको अनुभूति हुने गरेको छ ।

नाट्टा पश्चिमाञ्चल क्षेत्रीय सङ्घका प्रथम उपाध्यक्ष डिल गौतमले पर्यटकलाई जनकपुर पठाउन आपूmहरुले प्रचारप्रसारमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

पर्यटकको सुरक्षाका लागि सडक बत्तीको व्यवस्था मिलाई दिनपर्‍यो, उहाँले भन्नुभयो बत्ती भए अबेर साँझसम्म घुमफिर गर्न पर्यटकलाई समस्या हुँदैन ।

राज्य पक्षबाट जनकपुर उपेक्षित भएको बताउँदै नेपाल पत्रकार महासङ्घ धनुषाका निवर्तमान अध्यक्ष रामअशिष यादवले स्थानीय दाताहरुको सहयोगमा जनकपुर बनेको जिकिर गर्नुभयो । विकास निर्माणमा चासो नराख्ने जनकपुरवासी हाल आफैँ अगाडि आएको सङ्केत गरेका छन् । सडक विस्तारका क्रममा नगरवासीहरु आफैँले घर भत्काएर नमुना कार्य गरेका छन् ।

उहाँहरुलाई स्वागत गर्दै विदेह मिथिला क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका अध्यक्ष देवेन्द्र यादवले जनकपुरको विकासमा राज्य गम्भीर नरहेको आरोप लगाउनुभयो । संविधानसभामा धनुषाको प्रनिनिधित्व गरेका सभासद्हरुले पनि जनकपुरको विकासका लागि आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।

जनकपुरको विकासलाई लिएर सरकारको नीति विभेदपूर्ण रहेको अध्यक्ष यादवले टिप्पणी गर्नुभयो  ।

पर्यटन कार्यालय जनकपुरका प्रमुख सत्यनारायण साहले स्वागत मन्तव्य राख्दै पर्यटन विकासमा सबैको सहयोगको आवश्यक्ता औँल्याउनुभयो ।

सो अवसरमा नाट्टा पूर्वाञ्चल क्षेत्रीय सङ्घका केन्द्रीय सदस्य नुतन झाले जनकपुरमा पर्यटक भित्र्याउन आपूmहरु तयार रहेको बताउनुभयो । रासस