काठमाडौँ, १९ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा यही भदौ २१ गतेसम्म नमिलेका विषयमा सहमति हुने विश्वास व्यक्त गर्नुभएको छ ।
नियमित स्वास्थ्योपचारका सिलसिलामा भारतको नयाँ दिल्लीबाट फर्कने क्रममा त्रिवि विमानस्थलको विशेष कक्षमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “नमिलेका विषयमा सहमति जुटाएर अगाडि बढनुपर्छ, सबै नेपालीले आफ्नो अपनत्वको महसुस गर्न सक्ने खालको संविधान निर्माण गर्नुपर्छ ।”
एमाले संसदीय दलका नेता ओलीले देशलाई शान्ति, लोकतन्त्र, सामाजिक न्यायले समुन्नत बनाउनका लागि सहमति गरेर जानुपर्ने आवश्यकता छ भन्दै मुलुकलाई बलियो बनाउने र भोलिका निम्ति मार्गदर्शन गर्ने खालको संविधान निर्माणका लागि सहमतिको बिन्दुमा आउन सबैलाई आग्रह गर्नुभयो ।
भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा डा अनन्तकुमारलगायत चिकित्सकसँग मिर्गाैलासम्बन्धमा नियमित स्वास्थ्य जाँच गराउन यही भदौ १३ गते उहाँ त्यसतर्फ जानुभएको थियो ।
भारतमा रहँदा पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री ओलीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटी दुई देशको पारस्पारिक सम्बन्धलाई बलियो बनाउने विषयमा छलफल भएको जानकारी दिनुभयो । दिल्ली उपचारका क्रममा प्रवासी नेपालले आयोजना गरेको कार्यक्रममा सहभागी भएर उनीहरुको बसाइँलगायतका विषयमा समेत कुराकानी भएको उहाँले बताउनुभयो । आफ्नो स्वास्थ्यका बारेमा जानकारी गराउँदै उहाँले भन्नुभयो, “स्वास्थ्य परीक्षण गराएर आएँ, सुधार हुँदैछ, यो नियमित स्वास्थ्य परीक्षण हो ।”
अध्यक्ष ओलीलाई स्वागत गर्न पुग्नुभएका पार्टीका उपाध्यक्ष तथा उपप्रधानमन्त्री वामदेव गौतमले संसदीय व्यवस्थामा प्रतिपक्षले भनेको सबै कुरा मान्नुपर्छ नत्र संसद् चल्नै दिँदैन भन्ने कुरा संसारमा कहीँ पनि नभएको बताउँदै सत्तापक्ष जनताले सार्वभौमसम्पन्न बनाएर पठाएको प्रतिनिधि भएको हुनाले त्यहाँ हुने कामकारबाहीलाई विधि र प्रक्रियामा लागेर अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष ओलीलाई स्वागत गर्न पार्टी महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सदस्य भानुभक्त ढकाल, वैकल्पिक केन्द्रीय सदस्य नीरु पाल र खिमलाल भट्टराई, युवा सङ्घ नेपालका अध्यक्ष महेश बस्नेतलगायत पुग्नुभएको थियो । रासस
















प्रतिक्रिया