
काठमाडौँ, १९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सीमित राजनीतिक दलहरुबीच सम्झौता गरी संविधानसभामा लाद्ने प्रयास भएको भन्दै त्यसप्रति आपत्ति जनाएको छ ।
राप्रपा नेपालको आज बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँगको भेटमा पार्टी अध्यक्ष कमल थापाले संविधानसभालाई उपेक्षा गरी सीमित राजनीतिक दलहरुका बीचमा हुने सम्झौतालाई राप्रपा नेपालले अस्वीकार गर्ने बताउनुभयो ।
उहाँले संविधान निर्माण गर्ने समय आइपुग्दा निर्वाचनमा करिब सात प्रतिशत जनमत प्राप्त गरेको तथा राज्यको चौथो शक्तिका रुपमा रहेको शक्तिले उठाएको एजेन्डालाई कुनै सम्बोधन नगरी भइरहेको षडयन्त्रप्रति राप्रपा नेपाल संसदीय दलको बैठकले खेद प्रकट गरेको जानकारी गराउनुभयो ।
बैठकले संवैधानिक राजसंस्था तथा स्थानीय स्वायत्त शासन प्रणालीसम्बन्धी पार्टीको एजेन्डा सम्बोधन हुने अवस्थामा हदैसम्मको लचकता कायम राख्न तयार हुँदा पनि निषेधको मानसिकता कायम गरिएको भन्दै त्यसको विरोधमा संसद् र संविधानसभामा सशक्त प्रतिरोध गर्ने तथा सम्बन्धित समितिहरुमा लिखित रुपमा असहमति दर्ता गर्ने निर्णय गरेको छ । रासस















प्रतिक्रिया