काठमाडौँ, १८ भदौ । उपभोक्ताको मागअनुसार कोटा वृद्धि गर्न १४ महिनादेखि पटकपटक सम्बन्धित निकायमा अनुरोध गर्दा पनि वास्ता नगरेको भन्दै नेपाल एलपी ग्यास उद्योग सङ्घले आन्दोलनको घोषणा गरेको छ ।
सम्बन्धित निकायले आलटाल गरेका कारण देशमा एलपी ग्यासको चरम अभाव भएकाले आन्दोलनको घोषणा गर्नुपरेको आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले बताउनुभयो ।
ग्यासमा घाटा कम गराउने नाममा नेपाल आयल निगम उपभोक्ताको दैनिकीसित जोडिएको विषयमा पन्छिन खोज्नु ठूलो गल्ति हुने सङ्घका महासचिव कुशप्रसाद मल्लीले उल्लेख गर्नु भयो ।
हाल बजारमा मासिक ३० हजार मेट्रिक टन ग्यासको आवश्यकता भए पनि मासिक २२ हजार ३७७ मेट्रिक टनको मात्र निगमले कोटा कायम गरेको कार्यक्रममा जानकारी गराइएको थियो ।
निगमकै तथ्याङ्कअनुसार पनि हाल ३५ प्रतिशत ग्यास अभाव हुने अध्यक्ष घिमिरेले बताउनुभयो ।
नेपालका लागि ग्यास आयात हुने भारतीय आयल कर्पोरेसनको बरौनी रिफाइनरीलाई मर्मत सम्भार गर्ने काम भइरहेकाले ५० देखि ६० प्रतिशतमात्र ग्यास आयात भएकाले पनि उपभोक्ताले ग्यासको अभाव खेपिरहनुपरेको महासचिव मल्लीले दाबी गर्नुभयो ।
सङ्घले घोषणा गरेको कार्यक्रमअन्तर्गत भदौ १९ गते प्रमुख राजनीतिक दलका केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाइने, २० गते उपभोक्तावादी सङ्घ संस्थासित छलफल गर्ने, २२ गते आइतबार एलपी ग्यास खरिद नगर्ने, २४ गतेबाट भारतीय आयल कर्पोरेशनका सबै रिफाइनरीबाट ग्यासको लोडिङ पूर्णरुपमा बन्द गर्ने, र भदौ २७ गते शुक्रबारबाट सम्पूर्ण भन्सार नाकाबाट ग्यास नछुटाउने कार्यक्रम रहेको सङ्घले जानकारी गराएको छ । रासस














प्रतिक्रिया