कञ्चनपुर, १८ भदौ । छाउपडी प्रथा हटाउनका लागि जिल्लाको कृष्णपुर पहरियाका महिला सचेतना छर्ने कार्यमा अग्रसर हुन थालेका छन् ।
छाउपडी प्रथा हटाउन वर्षांदेखि थालिएका प्रयास प्रभावकारी बन्न नसकेपछि कञ्चनपुरका महिला योजनाबद्ध तरिकाले छाउपडी प्रथा हटाउनका लागि सचेतना फैलाउँदै समाजका अगाडि आउन थालेका हुन् ।
कृष्णपुर गाविस पहरियाका २५ घरधुरीका महिला छाउपडी प्रथाविरुद्ध सङ्गठित भएका छन् । नौ वर्षदेखि छाउपडी प्रथा हटाउनका लागि कञ्चनपुरका महिलाले प्रयत्न गर्दासमेत हट्न नसकेपछि सचेतना छर्ने कार्यलाई अघि सारेका हुन् ।
सचेतनाको बढ्दो प्रयासले केहीले छाउपडी गोठ भत्काए पनि अझै पनि गाउँका अधिकांश महिला महिनावारी भएका समयमा गोठमा नै बस्ने गरिएका छन् ।
‘छाउपडी हुँदा गोठमा बस्नुपर्ने हुन्छ,’ स्थानीय राजु बुढाले भन्नुभयो, ‘त्यसैलाई हटाउन सबै लागेका छौँ ।’ महिनावारी भएका समयमा महिला घरबाट टाढा गोठमा बस्दा ज्यानै असुरक्षित हुने भएकाले छाउपडीविरुद्ध जुटेको उहाँले बताउनुभयो ।
देवता रिसाउने गलत मान्यताका कारण आफूहरुलाई गोठमा बस्न बाध्य बनाएको जानकारी हुन थालेपछि महिला अभियानमा जुटेको उहाँले बताउँनुभयो । जैविक विविधता संरक्षण, लैङ्गिक समानता, समावेशी विकासलगायतका विषयमा जानकारी गराउन सञ्चालन गरिएको केन्द्रका महिलाले सकारात्मक र नकारात्मक दुवै असर छलफल गरी छाउपडीविरुद्ध अभियान चलाउने निष्कर्ष निकालेको हरियो वन कार्यक्रमका स्थानीय स्रोत व्यक्ति लक्ष्मण कार्कीले बताउनुभयो ।
‘छुट्टै गोठमा बस्दा बलात्कार हुने, सर्प, बिच्छीले डस्ने, खट्टा खुम्च्याएर सुत्नुपर्ने लगायतका धेरै बेफाइदा हुँदा सबै महिला एकबद्ध भएर अगाडि बढेका छन्,’ उहाँले भन्नुभयो ।
पहाडबाट बसाइँसराइ गरेर आएका अधिकांश परिवारहरुले महिला महिनावारी भएका समयमा बस्नका लागि छुट्टै गोठ बनाएका छन् । विसं २०६१ मा पहरियामा २४ वटाभन्दा बढी छाउपडी गोठ भत्काएका थिए ।
अभियानमा जुटेका महिलाले पहिलो चरणमा ११ परिवारबाट छाउपडी हटाउने अभियान चलाउने निर्णय गरेका छन् । त्यसपछि छिमेकी गाउँका महिलालाई समेत अभियानमा सहभागी गराउने योजना छ ।
जनस्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत हेमराज जोशी महिनावारी हुँदा छुट्टै गोठमा राख्ने मान्यता गलत भएको बताउँनुहुन्छ ।
‘पुरातनवादी संस्कारले यसलाई आश्रय दिएको छ, छाउपडी गोठमा नबस्दा देवता रिसाउने, गाईभैँसीले दूध नदिने मान्यताका पछाडि सत्यता छैन,’ उहाँले भन्नुभयो, ‘सामाजिक सचेतना बढाएर यसलाई हटाउन सकिन्छ ।’
पहरियाका महिलाले चालेको छाउपडीविरुद्धको अभियानले समाजमा सकारात्मक सन्देश जाने र अन्य क्षेत्रमा समेत छाउपडीजस्तो रुढीवादी परम्परा तोड्नका लागि सहज हुने उहाँले उल्लेख गर्नुभयो। रासस
्
















प्रतिक्रिया