३० आश्विन २०८३, शुक्रबार

दाङमा बाढीका कारण २ दर्जन सिँचाइ आयोजनामा क्षति, झण्डै तीन करोडको नोक्सानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dang-Badi-Pidit

दाङ, १८ भदौ । साउन महिनाको अन्तिम सातामा परेको अविरल वर्षाका कारण आएको बाढीले दाङका २० भन्दा बढी सिँचाइ आयोजनामा क्षति पुगेको मध्यपश्चिम सिँचाइ डिभिजन कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

ती सिँचाइ योजना क्षतिग्रस्त हुँदा दुई करोड ६५ लाख क्षति भएको कार्यालयका इन्जिनियर आदित्यनारायण गौतमले जानकारी दिनुभयो ।

बाढीले क्षति पुर्‍याएका ती सिँचाइ योजना पुनर्निर्माण गर्न साढे तीन करोडभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ ।

सिँचाइ कुलोमा बाढीले क्षति पुर्‍याएपछि रोपाइँ गरिएको धानखेतमा पानी नहुँदा यस वर्ष जिल्लाको धान उत्पादनमा क्षति पुग्ने निश्चित भएको मध्यपश्चिम डिभिजन सिँचाइ कार्यालय तुलसीपुरले जनाएको छ ।

डिभिजन सिँचाइ कार्यालयका अनुसार घोराही–४ बेलभारको ठाटी सिँचाइ कुलो, ढिकपुर गाविसको लरैना सिँचाइ योजना तुलसीपुर– १० को दोघरे सिँचाइ योजना र भट्टे सिँचाइ योजनामा गरी ८५ लाखभन्दा बढीको क्षति भएको छ ।

त्यस्तै पवन नगर गाविसको छोटे कुलो सिँचाइ योजना तुलसीपुर नगरपालिकाको सातगाउँले सिँचाइ योजना, सौडियार गाविसको कछारे सिँचाइ योजनामा ४५ लाख बराबरको क्षति पुगेको मध्यपश्चिम सिँचाइ डिभिजन कार्यालय दाङले जनाएको छ ।

यसैगरी हापुर– ६ को अरँया सिँचाइ योजना, डुरुवा गाविसको कन्जवार पतखौली सिँचाइ योजना, उरहरी गाविसको उरहरी कचिला सिँचाइ योजना, तुलसीपुर नगरपालिकाको गौरीगाउँले सिँचाइ योजना हेकुली गाविसको नकसरुवा सिँचाइ कुलाको बाँधमा गरी ४५ लाख बढीको क्षति पुगेको जनाइएको छ ।

श्रीगाउँ गाविसको चिरागार सिँचाइ योजना, पवन नगर गाविसको सिरकट्टी सिँचाइ योजना, तुलसीपुर– ६ को राजापुर सिँचाइ योजना, तुलसीपुर– ११ को अश्वारा डवरा सिँचाइ योजना, मानपुर विजौरी गाविसको मानपुरे कुले सिँचाइ योजना, तुलसीपुर र टरिगाउँ गाविसको मानपुरे कुलोमा गरी ४० लाख बढीको संरचनामा क्षति पुगेको कार्यालयले जनाएको छ ।

यसैगरी बागमारे गाविसको माझकुलो सिँचाइ योजना, पञ्चकुले गाविसको बेलघारी सिँचाइ योजनामा ३५ लाख बराबरको क्षति भएको बताइएको छ । रासस