बाजुरा, १७ भदौ । बाजुरा जिल्लाको रुगिनमा गाउँ नै पहिरोले बगाएपछि स्थानीयवासी लेकमा पाल टाँगेर बस्न बाध्य भएका छन् ।
साउनको अन्तिम सातादेखि निरन्तर आएको अविरल वर्षासँगैको बाढीले रुगिन–९ किउँडीको सुपमा रहेका ३५ घर बगाएको स्थानीयबासिन्दाले बताएका छन् ।
लेकबाट खोला बौलिएर गाउँ नै बगाउने गरी आएको बाढीले स्थानीयको लाखौँको क्षति पुर्याएको छ । रुगिनको किउँडीमा ८० परिवार बसोबास गर्दै आए पनि खोला नजिकैका ३५ घर बगाएको प्रहरी चौकी विच्छयाँले जानकारी दिएकोे छ ।
पहिरोले स्थानीय वीरबहादुर रोकाया, बाँचुलाल रोकाया, धनकृष्ण लुवार, ज्ञामी बुढा, छक्क रोकाया, लालबहादुर रोकाया, खर्के बुढा, चिने लुवार, वीरेन्द्र लुवारलगायतका घर बगाएपछि हाल आएर उनीहरू लेकमा पाल टाँगेर बस्न परिरहेको गुनासो पीडित वीरबहादुर रोकायाले गर्नुभएको छ ।
गाउँ नै पहिरोले बगाएपछि उनीहरू राहतका लागि जिल्ला प्रशासन कार्यालय बाजुरामा पुगे पनि कुनै राहत नपाएको पीडितको गुनासो रहेको छ । ‘गाउँ पूरै पहिरोले बगाइसक्यो कहाँ गएर बस्ने हो ? आजभोलि हामीहरू विस्थापित भएका छौँ,’ उहाँले भन्नुभयो, ‘जिल्ला प्रशासन कार्यालयमा गएर पनि केही राहत पाएका छैनौँ सिडिओ सायवले अनुगमन गर्न एक टोली पठाउँछु अनि क्षति भएको सम्पूर्ण मूल्याङ्कन गरेर राहतको व्यवस्था गर्ने आश्वासन दिनुभएको छ ।’
त्यस्तै आखाँभरि आँसु निकाल्दै पीडित धनकृष्ण लुवार आफ्नो दुखेसो गर्नुहुन्छ, ‘मेरो त घर कहाँ थियो भन्ने कुनै निसाना नरहने गरी बगाइसकेको छ । जग्गाजमिन पनि केही राखेको छैन ।’
त्यस्तै अघिल्लो साता जिल्लाका अधिकांश गाउँमा पहिरोले क्षति गरेपछि स्थानीय त्रसित बनिरहेका छन् भने कसैको त उठिबाससमेत भइसकेको छ । बाजुरा जिल्लामा सबैभन्दा धेरै पहिरोले क्षति यो वर्ष भएको जिल्ला दैवी प्रकोप उद्धार समन्वय समितिले जानकारी दिएको छ ।
जिल्लाको कोल्टीमा तीनको मृत्यु, दर्जनभन्दा बढी घाइते र धनजनको क्षति हुनुका साथै गाउँ नै तहसनहस बनाएको थियो ।
त्यस्तै छतारामा घट्ट जाँदै गरेका एकजनाको पहिरोले चेपिएर मृत्यु भएको थियो भने बाह्रविसेमा आलु बेच्न आएकी एक महिलाको पहिरोले बगाएर मृत्यु भएकोे थियो ।
त्यस्तै पाण्डुसैनमा दाउरा गएका एक वृद्धको खोलाले बगाएर मृत्यु भएको थियो भने कोटिलामा पनि खोलाले बगाएर स्थानीय एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । रासस















प्रतिक्रिया