काठमाडौं, १५ भदौ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाओवादी संविधान निर्माणप्रति जिम्मेवार नभएको आरोप लगाउनु भएको छ ।
रिपोर्टर्स क्लब नेपालले आईतवार राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले उच्चस्तरीय राजनीतिक समितिको माग गरेर एएमाओादीले नयाँ संविधान निर्माणमा भाँजो हालेको आरोप लगाउनु भएको हो ।
एमाओवादीले चारबुँदे सहमति तोडेको आरोप अन्य दललाई लगाएर आफु इमान्दार देखिन खोेजेको भन्दै त्यसमा सत्यता नभएको दावी गर्नुभयो ।
उहाँले माघ ८ गतेभित्र संविधान जारी गर्ने, सत्यनिरुपण आयोग गठन र शान्ति प्रक्रिया टुंग्याउने सहमति पुरा भएको बताउनुभयो ।
उहाँले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन नसकिने भन्दै एमालेको बटमलाइन त्यही भएको दावी गर्नुभयो । संविधानसभाभित्रै शक्तिशाली समिति हुँदाहुँदै अर्को समितिको माग गर्नु संविधान नबनाउने खेल भएको उहाँको तर्क थियो ।
उहाँले पार्टीको तर्फबाट संविधानसभामा मनोनित भएका ८ जनाको विषयमा कुनै जानकारी नभएको समेत बताउनुभयो ।
कांग्रेस नेता अर्जुन नरसिंह केसीले राजनीतिक समिति गठनको नाममा एमाओवादीले संविधान निर्माणको कार्यलाई प्रभावित पार्न खोजेको आरोप लगाउनुभयो ।
कांग्रेस केन्द्रीय कार्य समितिले उच्चस्तरीय राजनीतिक समिति गठन नगर्ने निर्णय गरिसकेको भन्दै उहाँले माओवादीलेसंसदको बैठक अवरुद्ध गर्दै समिति गठन नहुने बताउनुभयो ।
उहाँले २६ सभासदको नियूक्ती पार्टीको संस्थागत निर्णयबाट नभएको भन्दै आपत्ति जनाउँनुभयो ।
कार्यक्रममा एमाओवादी नेता टोपबहादुर रायमाझीले सहमति भाँडेर संविधान नबनाउने खेलमा काग्रेस र एमालेले लागेको आरोप लगाउनुभयो ।
उहाँले राजनीतिक समिति गठन नभएसम्म ब्यवस्थापिका संसद सूचारु हुन नदिने र २६ जनाको मनोनयनमा नाम पनि नदिने स्पष्ट प्रष्ट पार्नुभयो ।
नेकपा–माओवादीका सचिव देब गुरुङले एमाओवादीले भनेको उच्चस्तरीय राजनीतिक समितिको अवधारणा स्पष्ट नभएकोले कुनै टिप्पणी नगर्ने बताउनुभयो ।















प्रतिक्रिया