भक्तपुर, १५ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेर एकीकृत नेकपा (माओवादी) ले सरकार कब्जा गर्न खोजेको बताउनुभएको छ ।
अध्यक्ष बिजुक्छेले मध्यपुर थिमिमा आयोजित एक कार्यक्रममा कुरा गर्दै अहिलेको समयमा संयन्त्रको आवश्यकता नभए पनि संयन्त्र गठनको माग गर्नु एमाओवादीको सरकार कब्जाको खेल भएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “उच्चस्तरीय राजनीतिक संयन्त्र बन्यो भने त्यसले सरकारलाई गाइड गर्छ, सरकारले स्वतन्त्र भएर काम गर्न सक्दैन, संयन्त्रले सरकारसँग विभिन्न माग राख्छ, एमाओवादीले संयन्त्र आफूले चलाएर सरकार कब्जा गर्न खोज्दैछ ।”
संयन्त्रको आवश्यकता एमाओवादीलाई हो कि देशलाई हो भन्ने स्पष्ट हुनुपर्ने बताउँदै उहाँले देशका लागि संयन्त्र गठन गर्ने हो भने सर्वदलीय बैठक राखेर निर्णय गर्नुपर्ने उहाँको भनाइ छ ।
अध्यक्ष बिजुक्छेले भन्नुभयो, “संयन्त्र देशकै लागि हो भने तीन दल (काँग्रेस, एमाले र एमाओवादी) बीचमात्रै छलफल हुनु हुँदैन, सर्वदलीय बैठक राखेर सबैलाई समेटेर लैजाने गरी संयन्त्र गठनका लागि छलफल हुनु आवश्यक छ ।”
संविधान बनाउनुभन्दा पनि संसद् अवरुद्ध गरेर एमाओवादीले आफ्नो हात माथि परे सबै ठीक नभए बेठीक भन्ने सोचलाई निरन्तरता दिएको उहाँको भनाइ छ ।
एमाओवादी संसद्मा पञ्चायती शैलीमा प्रस्तुत भएको आरोप लगाउँदै उहाँले एमाओवादीले संविधानसभामा बहिष्कार गरेर सदन चल्न नदिए संविधान पनि समयमै नआउने बताउनुभयो ।
संविधानसभामा भागबन्डाका आधारमा सभासद् मनोनित गरेको विषयमा असन्तुष्ट जनाउँदै उहाँले भागबन्डाका आधारमा नभई विज्ञलाई मनोनित गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेले भन्नुभयो, “आफन्त र भाइभतिजालाई सभासद् मनोनयन गरेर कुनै उपलब्धि हुँदैन, २६ जना मनोनयनमा निर्वाचनबाट आउन नसक्ने तर विशेषज्ञ, संविधान विज्ञ, कानुन विज्ञलाई मनोनयन गरेको भए उपलब्धि हुन्थ्यो ।”
सबै दलसँग छलफल गरेर विज्ञको खोजी गरी मनोनयन गर्नुपर्नेमा भागबन्डा गर्दा योग्य व्यक्ति पछाडि पर्ने उहाँको धारणा थियो । रासस
















प्रतिक्रिया