काठमाडौँ, १५ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेपछि पशुपतिमा विशेष पूजाआजा गर्नेको संख्या बढ्न थालेको छ ।
मोदीको विशेष पूजाका क्रममा भारतीय सञ्चारमाध्यमले पशुपति क्षेत्रबाट प्रत्यक्ष प्रसारण गर्दा विश्वमा रहेका वैदिक सनातन हिन्दु धर्मावलम्बीमा पशुपतिका विषयमा जानकारी बढेकाले विशेष पूजाआजा गराउनेको सङ्ख्या बढेको कोषका सदस्यसचिव डा गोविन्द टण्डनले बताउनुभयो ।
मोदीले पशुपतिमा विशेष पूजा गराएपछि बलिउडका चर्चित कलाकार अनुपम खेर र दक्षिण भारतीय कलाकार चिरञ्जीवी कोनिडालाले पनि पशुपतिमा विशेष पूजा गराएको कोषका निर्देशक भरत मरासिनीले बताउनुभयो । कोनिडालाले भदौ ६ गते शुक्रबार र खेरले भदौ ७ गते शनिबार पशुपतिमा विशेष पूजा गराउनुभएको थियो । कोनिडालाले दुई लाख ५१ हजार र खेरले पाँच हजार एक सयको विशेष पूजा गराउनुभएको पनि निर्देशक मरासिनीले जानकारी गराउनुभयो ।
यसरी विशेष पूजा गराउने र पशुपतिमा दर्शन गर्ने भारतीयको सङ्ख्या मोदीको आगमनपछि बढेको कोषका कोषाध्यक्ष तारानाथ सुवेदीले बताउनुभयो । यसबाट पशुपति क्षेत्रको आयमा समेत वृद्धि भएको उहाँले जानकारी गराउनुभयो ।
पशुपतिमा विशेष पूजाआजा गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण जन्मोत्सव एवम् विशेष अवसर पारेर वैदिक सनातन हिन्दु धर्मावलम्बीले पशुतिमा विशेष पूजा गर्ने गरेका छन् । विशेष पूजाबाट हाल पशुपतिमा दैनिक दुईदेखि तीन लाखसम्म आय हुने गरेको सदस्यसचिव टण्डनले बताउनुभयो ।
पशुपतिमा एक हजार १०० रुपैयाँदेखि २५ लाख रुपैयाँसम्मको विशेष पूजा गराउन सकिने व्यवस्था रहेको छ । यस किसिमको विशेष पूजा १० मिनेटदेखि एक महिनासम्म समयावधिको हुने गरेको पनि सदस्यसचिव टण्डनले बताउनुभयो ।
नेपालमा दोस्रोपटक संविधानसभाको निर्वाचन गराउन गठित मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले शपथ लिएपछिको पहिलो सोमबार पशुपतिमा पाँच हजार एक रुपैयाँको विशेष पूजा गर्नुभएको निर्देशक मरासिनीले बताउनुभयो ।
पूर्वराजाहरूले भने राजा भएका बेलामा पशुपतिमा विशेष पूजाआजा गराउने गरेको सदस्यसचिव टण्डनले जानकारी दिनुभयो ।
विशेष पूजाआजा गराउनेमा केही नेपालीबाहेक प्रायः भारतीय नै हुने गरेको कोषको अभिलेखबाट देखिएको सदस्यसचिव टण्डन बताउनुहुन्छ । हाल दैनिक डेढ सयदेखि दुई सयसम्म विशेष पूजा हुने गरेकामा यो सङ्ख्या कम्तीमा पनि ३०० पु¥याउने तयारीका साथ कोष अगाडि बढिरहेको उहाँले जानकारी दिनुभयो ।
विसं. २०२२ बाट फर्माइसी पूजाका नामबाट सुरु भएको विशेष पूजा २०६८ साल चैत २५ गतेसम्म पशुपतिका भट्टले नै गुपचुप रूपमा गर्दै आएका थिए । २०६८ साल चैत २६ गतेबाट मन्दिर व्यवस्थापन तथा विशेष पूजा नियमावली लागू भएपछि भने विशेष पूजाको रसिद काट्ने अधिकार कोषमा आएको सदस्यसचिव टण्डनले जानकारी दिनुभयो । यसपछि नै विशेष पूजाबाट उठ्ने रकम र विशेष पूजाको महत्वका विषयमा सर्वसाधारणलाई जानकारी भएको कोषका पूर्वसदस्य गोपालप्रसाद सुवेदीले बताउनुभयो ।
कोषको मातहतबाट सञ्चालन हुन थालेपछि विशेष पूजाका विषयमा धेरै मानिसलाई जानकारी भएको उहाँको भनाइ थियो । हाल एकजना भट्टको पद रिक्त रहेकाले पनि आएका जति विशेष पूजा गराउन मुस्किल भएको छ । भट्टको पदपूर्तिपछि ३०० विशेष पूजा दैनिक गरिने प्रतिबद्धता सदस्यसचिव टण्डनले जनाउनुभयो ।
विशेष पूजामा रुद्राभिषेकसहित पञ्चामृत स्नानसमेत हुने गर्दछ । रुद्राभिषेक भने भक्तले जति गराउने इच्छा राख्छन् त्यहीअनुसार गराइने गरिएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले विशेष पूजाका क्रममा पशुपतिनाथमा श्रीखण्ड चढाएपछि नेपाली भक्तजनले पनि श्रीखण्ड चढाउन थालेका छन् । पूर्व बडागुरुज्यू केशरीराज पाण्डे र उहाँकी श्रीमती किरणकुमारी पाण्डेले ६० किलो ९५० ग्राम श्रीखण्ड चढाएको कोषले जनाएको छ । यसको बजार मूल्य छ लाख रुपैयाँ पर्ने पनि कोषले जानकारी दिएको छ ।
पाण्डे परिवारले पुख्र्यौली मौज्दातबाट श्रीखण्ड चढाएको सदस्य सचिव टण्डनले बताउनुभयो । रासस
















प्रतिक्रिया