बागलुङ, १४ भदौ । माहुरीको घार बनाएर बिक्री गर्दा बागलुङका किसानले एकै वर्षमा तीन लाख कमाउन सफल भएका छन् । अघिल्लो वर्ष खोलेको घार उद्योगबाट दगातुम्डाडा–७ का तेजबहादुर रानाले एकै वर्षमा राम्रो आम्दानी गर्नुभएको हो । सबै खर्च कटाएर रु दुई लाख नाफा गर्न सकेको रानाले बताउनुभयो ।
‘दैनिक फोनमै अर्डर गर्नेहरूको माग पूरा गर्न सकेको छैन,’ रानाले भन्नुभयो, ‘जग्गा जमिन नभएकाले ज्याला मजदुरी गरेर खाएको थिएँ, घार निर्माणले आम्दानी बढाएको छ ।’ एक वर्षअघि रानाले ऋण र सहयोग जुटाएर घार उद्योग खोलेपछि जीवनस्तरमा सुधार भएको हो ।
एक वर्षमा रानाले दुई सय घार निर्माण गरेर बिक्रीसमेत गरिसक्नुभएको छ । प्रतिघार दुई हजार २०० मा बिक्री गरेका रानाले एकै वर्षमा खर्च कटाएर रु दुई लाख नाफा कमाउन सफल भएको बताउनुभयो ।
स्थानीय डुडियाचौर सामुदायिक वन र पासाङ ल्हामु सामुदायिक वनमा सम्झौता गरेर उनले उत्तिस, टुनी र पाखुरीजस्ता काठबाट व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
गाउ वन समन्वय समिति र जडीबुटी व्यवस्थापन केन्द्रमार्फत अन्तरिक वन परियोजनाले घार निर्माणका लागि सहयोग गरेपछि राना व्यवसायमा थप हौसिएका छन् ।
व्यवसाय सञ्चालनका लागि परियोजनाले रु ३४ हजार नगद र तालिम सहयोग गरेको थियो । रानाले उद्योग सञ्चालन गर्दा कुल रु दुई लाख लगानी गर्नुभएको थियो । अहिले उहाँको उद्योग हेर्न विभिन्न स्थानबाट किसान र उद्योगीहरू आउन थालेका छन् । रासस













प्रतिक्रिया