हेमनाथ खतिवडा
रसुवा (कालिकास्थान), १४ भदौ । रसुवा जिल्लाको एकमात्र कालिका सामूदायिक अस्पताल बन्द भएको छ । नागरिकलाई स्वास्थ्य सेवा दिन खोलिएको अस्पताल गतिलो व्यवस्थापनको अभावले बन्द भएको हो ।
एक वर्षअघिदेखि डाक्टर विहीन बनेको उक्त अस्पताल जिल्ला स्वास्थ्य कार्यालय मातहतमा रहेको एड्रा नेपाल नामक एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा निर्माण भएको थियो ।
संस्थाले सुविधा सम्पन्न भवन निर्माण गरिदिए पनि तत्कालिन नेकपा माओवादीको तोडफोड र धम्कीका कारण पछिल्लो समय अस्पतालले कुनै पनि सेवा प्रदान गर्न सकेको थिएन ।
कालिकास्थानका स्थानीय समाजसेवी नवराज न्यौपाने अस्पतालले राम्रो व्यवस्थापकीय क्षमता देखाउन नसकेकाले बन्द भएको बताउनुहुन्छ ।
‘न पारदर्शी गर्न सक्यो न सहयोगी न अस्पताल टिकाएर जनतालाई सेवा दिन सक्यो’ न्यौपानेले भन्नुभयो, ’ ‘विभिन्न दाताहरुले कति सहयोग दिए, अहिले व्यवस्थापन समिति कहाँ गयो ?’
उहाँले अस्पताल सञ्चालन गर्न जिल्ला विकास समितिलगायत राष्ट्रिय अन्तर्राट्रिय संस्थाहरुको सहयोग आएको भए पनि त्यो समेत हिनामिना भएको आरोप लगाउनुभयो ।
अस्पतालमा कार्यरत सहयोगी संगिता पौडेलले आफुले १३ महिनादेखि तलव नपाएको गुनासो गर्नुभयो ।
अस्पताल बन्द भएसँगै दाताहरुले दिएको उपकरण र सामाग्री समेत खिया लागेर प्रयोग विहीन बनेको छ । कतिपय सामन हराएका छन् ।
अस्पतालमा ताला बन्द भएपछि स्थानीयले सरकारी मातहतमा राखेर बृहत आकस्मिक प्रसुती केन्द्र सञ्चालन गर्नु पर्ने माग गरेका छन् ।
अस्पतालमा कार्यरत कर्मचारीहरु समेत तलव नपाएपछि छाडेर गएका छन् । एमाओवादीका तर्फबाट सभासद बनेका पुर्व सभासद प्रेम तामाङ निकटका व्यक्तिहरुले अस्पताल सञ्चालन गरेको जानकारहरु बताउँछन् ।
अस्पतालमा राजनीतिक व्यक्तिको सम्लग्नता रहेकाले आग्रह र पुर्वग्रहका कारण अस्पताल सञ्चालनमा अवरोध आएका एक थरीको तर्क छ ।
दैनीक २५ जना भन्दा बढी विरामीको उपचार गराउदै आएको उक्त अस्पतालमा पछिल्लो समय २/३ जना मात्र आउँने गरेका थिए । ती बिरामीले पनि स्वास्थ्यकर्मीको अभावले फर्कनु पर्ने बाध्यता थियो ।
अस्पतालले टेलिफोन र विद्युत बक्यौता समेत तिर्न सकेको छैन । केही दातहरुले सहयोग गर्ने तत्परता देखाए पनि व्यवस्थापन पक्षले चासो नदेखाएको स्थानीयको गुनासो छ ।
स्थानीय सीता अधिकारीले गाउँमा सेवा पाए टाढाँ धाउनु नपर्ने भन्दै अस्पताल सञ्चालन गर्नुपर्ने बताउनुभयो















प्रतिक्रिया