शारदा गैरे
काठमाडौं, १३ भदौ । सोझै परिचय दिँदा एमाले महासचिव इश्वर पोखरेलकी धर्मपत्नी हुन् उनी । आममानिसले सहजै चिन्ने उनको सहज परिभाषा यही हो । तर, एमालेमा भने उनको अलगै पहिचान छ, उनी एमाले महासचिव पोखरेलकी धर्मपत्नी मात्रै होइनन्, राजनीतिमा लागेकै कारण जागिर गुमाएकी एक शिक्षिका हुन्, उनी । एमालेकी एक बफादार सिपाही, जो ३६ बर्षदेखि अनवरत रुपमा पार्टीको सेवामा छिन् । र, त्यही सेवावापत जीवनमै पहिलोपटक पार्टीबाट पुरस्कृत भएकी छिन्, सभासद्का रुपमा ।
उनी अर्थात एमाले महासचिव इश्वर पोखरेलकी धर्मपत्नी मिरा ध्वजुको प्रसंग हो यो । जो मन्त्रिपरिषद्बाट शुक्रबार एमालेको कोटामा सभासद् मनोनयन भएकी छिन् ।
भक्तपुरको नगरकोटमा जन्मिएकी ध्वजु २०३२ सालदेखि शिक्षण पेशामा होमिएकी थिइन् । तर, देशमा पञ्चायती निरंकुशताविरोधी उर्लंदो लहरले उनलाई पनि छाडेन् । अन्ततः शिक्षण पेशासँगसँगै राजनीतिमा पनि होमिइन् । २०३६ सालमा तत्कालिन मालेको पार्टी सदस्य लिएकी ध्वजु त्यसलगत्तै भुमिगत रुपमा राजनीतिक गतिविधिमा पनि सक्रिय हुन थालिन् ।
तर, सुरुमै उनले ठूलो मुल्य चुकाउनुप¥यो, पञ्चायती व्यवस्थाविरुद्ध लागेकै कारण ध्वजुलाई तत्कालिन सरकारले डिल्लीबजार सदरखोरमा डेढमहिना जेल हाल्यो । जेलबाट छुटेपछि महिला अधिकारको आन्दोलनमा होमिइन् । अनेमसंघ काठमाडौं जिल्ला कमिटीमा बसेर काम गर्दागर्दै २०३९ सालमा उनले अनेमसंघको सचिव हुने मौका पाइन् । अनेमसंघसँगै पार्टीको अन्य जिम्मेवारी त छँदैथिए ।
२०४० सालमा ध्वजुले भुमिगत अवस्थामै नेता इश्वर पोखरेलसँग बिहे गरिन् । पोखरेल त्यतिबेला पार्टीका केन्द्रीय सदस्य थिए । ध्वजु भने काठमाडौंको मातातिर्थ, थानकोट क्षेत्रको पार्टी काम हेर्थिन । ध्वजु सम्झन्छिन्, ‘राजनीतिमै लागेका कारण मेरो उहाँसँग बिहे भएको हो । नत्र उहाँसँग बिहे हुने थिएन ।’
बिहेको एकबर्षपछि २०४१ सालमा ध्वजु काठमाडौं छाडेर काभ्रेमा पुगिन् । काभ्रेको विकट गाविस ठूलो पर्सेनको पञ्चकन्या माविमा पढाउँदै पार्टीको जिल्ला कमिटी सदस्यका रुपमा काम गर्न थालिन् । ध्वजुले त्यतिबेला संगठित गरेका गोकुल बास्कोटा अहिले एमालेको युवा नेता तथा काभ्रेका जिल्ला अध्यक्ष छन्, विदुर सापकोटा सभासद् छन् भने अष्ट्रेलियामा रहेका रमेश पाण्डे पार्टीका महाधिवेशन प्रतिनिधि हुन् । अन्य थुप्रै उनका चेलाहरु छन्, अहिले पनि एमालेकै राजनीतिमा छन् ।
शिक्षिका भएर पनि भुमिगत रुपमै अनवरत पार्टी विस्तारमा लागिरहेकी ध्वजुले पटकपटक धरपकड र तनाव समेत सहिन् । अन्ततः खाइआएको शिक्षिकाको जागिर समेत खासियो, २०४५ सालमा । बहुदल आएपछि फेरि मिराको पुर्नबहाली भयो । त्यसपछि त राजनीतिक यात्रामा विराम लगाउने कुरै भएन । २०५४ सालमा एमालेको अखिल नेपाल महिला संघको काठमाडौंको अध्यक्ष बनेकी उनी त्यहीबर्ष केन्द्रीय सदस्य अनि सचिवालय सदस्य बनिन् । २०६४ सालमा आइपुग्दा उनी अनेमसंघको केन्द्रीय सचिव भइन् ।
अनेमसंघमात्रै होइन, पार्टीमा पनि उनका थुप्रै जिम्मेवारी थिए । एमालेको काठमाडौंको सदस्य हुँदै २०५७ सालमा उनी उपत्यका समन्वय कमिटीको सदस्य भइन् । २०६२ सालबाट २०६६ सालसम्म उपत्यका समन्वय कमिटीको सदस्यको रुपमा काम गरिन् ।
आठौं महाधिवेशनपछि २०६७ सालमा केन्द्रीय समावेशी तथा सामाजिक सेवा विभागमा काम गरेकी ध्वजु २०६९ सालमा केन्द्रीय सल्लाहकार परिषदको सदस्य बनिन् । नवौं महाधिवेशनमा केन्द्रीय प्रतिनिधि ।
एमएसम्म अध्ययन गरेकी ध्वजुलाई पार्टीको काम त छँदैछ, एमाले महासचिवको धर्मपत्नी समेत भएकाले उनको व्यस्त दैनिकीलाई सम्हालिदिनुपर्ने अर्को दायित्व पनि छ । अझ घरमा आउने कार्यकर्ता र पाहुनालाई मिठो बचन बोल्न र सकेसम्मका सरसहयोग गर्न त उनी माहिरै छिन् ।
‘वास्तवमा धैर्यता भयो भने पार्टीले मुल्यांकन गरी अवसर दिने रहेछ भन्ने महसुस गरें । ३६ बर्षदेखि मैले अनवरत रुपमा पार्टीको काम गरें, अहिलेसम्म कुनै राजकीय अवसर पाएको थिइन् ।,’ सभासद् बनेपछि हर्षित हुँदै ध्वजुले भनिन्, ‘निर्धारित समयमै संविधान बनाउनेतिर म पनि पहल गर्नेछु ।’
ध्वजु सभासद् बनेपछि काठमाडौं क्षेत्र नम्बर ५ मा झनै खुसीयाली छाएको छ । एमाले महासचिव इश्वर पोखरेलले चुनाव लडेको यो क्षेत्रमा काँग्रेसको बाहेक अन्य पार्टीले समानुपातिकमा समेत सभासद् चयन गरेका थिएनन् । ‘हामीलाई सभासद्को अभाव खडकिएको थियो, अब हाम्रो क्षेत्रले पनि सभासद् पायो ।’ एमालेका उपत्यकाका नेता नारायण सिलवालले भने ।
















प्रतिक्रिया