२ कार्तिक २०८३, सोमबार

पहिरोले नुवाकोटमा एकै परिवारका तीन जनाको मृत्यु, पासाङल्हामु राजमार्गमा पनि पहिरो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nuwakot_district

नुवाकोट, १३ भदौ । पहिरोले घर भत्काउँदा नुवाकोटको बेलकोट गाविसमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

गएराति बेलकोट गाविस वडा नंं. १ का नवराज ढकालको घरलाई पहिरोले पुर्दा ढकालका २५ वर्र्षीया श्रीमती गोमा ढकाल, ५ बर्षीया छोरा नविन ढकाल र दुई बर्षीया छोरी गरिमा ढकालको मृत्यु भएको हो । राति दुई बजेको समयमा गएको पहिरोमा पुरिएर गम्भीर घाइते भएका तीनै जनालाई स्थानीयवासीहरुले उद्दार गरी आज विहान काठमाडौं पठाएकोमा त्रिवि शिक्षण अस्पताल अस्पतालमै उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक प्रकाशराज शर्माले जानकारी दिनुभयो ।

घरमुली नवराज ढकाल भने घरमा नभएकाले बाँच्न सफल भएका छन् । घटनास्थलमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटका कोषाध्यक्ष श्रीराम पाण्डे, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक प्रकाश शर्मासहित स्थानीयबासीहरु घटनास्थलमा पुगेका छन् ।

गएराति परेको भिषण वर्षाका कारण बेलकोट गाविसका विभिन्न स्थानमा ठूलो क्षति भएको छ । पहिरोले खेत, सर्वसाधारणको घरगोठहरु भत्काएको बताइएको छ । क्षतिको विवरण नेपाल प्रहरीले गरिरहेको छ । पहिरोले बेलकोट गाविसका विभिन्न ग्रामीण सडकहरु तहसनहस हुने गरी भत्काइदिएको स्थानीय शिक्षक जीवराज कँडेलले जानकारी दिनुभयो । यस्तै, एक सय ५० रोपनी भन्दा धेरै धानखेत बगाएको छ ।

पासाङल्हामु राजमार्गको विभिन्न स्थानमा पहिरो गएको छ । अवरुद्ध राजमार्ग खुलाउनका लागि डिभिजन सडक कार्यालय नुवाकोटको डोजर प्रयोग गरिएको छ ।