काठमाडौं, १२ भदौ । मन्त्रिपरिषद्बाट मनोनित हुने सभासद्को अन्तिम सूची बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले छलफललाई तीव्रता दिनुभएको छ ।
एमालेको ८ जनाको कोटामा ३० जना भन्दा बढीको नाम सिफारिसमा परेपछि अध्यक्ष ओलीले पदाधिकारीहरुसँगको छलफललाई तीव्रता दिनुभएको हो । पदाधिकारीहरुबाट प्राप्त ३० जनामध्येबाट ८ जनाको नाम आजै टुंग्याइने सम्भावना रहेको एमाले स्रोतले जनाएको छ । सभासद् चयन गर्नका लागि अध्यक्ष ओलीले आज बिहानै पदाधिकारीहरुलाई निजी निवास बालकोटमा बोलाएर छलफल गर्नुभएको छ । यसअघि एमाले पदाधिकारीहरुले सभासद्को सूची तयार पार्न अध्यक्ष ओलीलाई जिम्मेवारी दिएका थिए । तर, धेरै आंकाक्षी भएका कारण अध्यक्ष ओलीलाई सभासद्को सूचीलाई अन्तिम रुप दिन अप्ठेरो परेको बताइएको छ ।
सभासद्को अन्तिम सूची तयार पार्न अध्यक्ष ओलीले आजको भारत भ्रमण समेत भोलीसम्मलाई स्थगित गर्नुभएको छ । सभासद्को अन्तिम सूची तयार पारिसकेपछि उहाँ बिहीबार स्वास्थ्य परीक्षणका लागि भारतको नयाँ दिल्ली जाने तयारीमा हुनुहुन्छ ।
एमालेबाट अग्नि खरेल, तेन्जी शेर्पा, सूर्य थापा, शम्भु श्रेष्ठ, झिलुप्रसाद तिवारी, विश्वकान्त मैनाली, भोजबहादुर शाह, उमेश श्रेष्ठ लगायतको बढी सम्भावना छ ।
यता, काँग्रेसभित्र पनि सभासद्को सूचीलाई अन्तिम रुप दिन छलफल भइरहेको छ । काँग्रेसबाट पनि सभासद्को सूची करिब करिब टुंगो लागिसकेको काँग्रेसका एक नेताले बताए । एमाओवादीले सभासद्को सूची दिन समय लगाउने देखिएकाले सभासद्को निर्णय गर्न केही दिन लाग्न सक्ने उनले बताए ।
















प्रतिक्रिया