काठमाडौँ, ११ भदौ । एकीकृत नेकपा (माओवादी)ले पार्टीभित्र देखिएको विवाद समाधान गर्न एक वर्षभित्र विशेष महाधिवेशन गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको पोलिटब्युरोको अनौपचारिक बैठकले नयाँ परिस्थितिमा आवश्यकताअनुसार विशेष महाधिवेशनमा जाने निर्णय भएको स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
आगामी असोज १ गते पार्टीको केन्द्रीय समितिको बैठक बोलाइएको र सोही बैठकले महाधिवेशनको निर्णय गर्ने उहाँले बताउनुभयो ।
बैठकले पदाधिकारीसहित संरचनालाई विघटन गरी महाधिवेशन आयोजक समिति बनाउने र अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदल्ने छ ।
सापकोटाले नेकपा–माओवादी, नेकपा(माओवादी)सहितका माओवादी पार्टीसँग पनि एकता गर्ने उद्देश्यसहित महाधिवेशन आयोजक समिति गठन गरिने उल्लेख गर्नु भयो ।
आजको बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेता डा बाबुराम भट्टराईले मिलेर जानुको विकल्प नभएको बताउँदै हालसम्म भएको छलफलबारे जानकारी गराउनुभएको थियो ।
विस २०६९ माघमा हेटौँडामा महाधिवेशन गरेको एमाओवादीले विवाद बढ्दै गएपछि गत वैशाखमा विराटनगरमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो । रासस
















प्रतिक्रिया