काठमाडौँ, ९ भदौ । नेपाली सेनाले सिन्धुपाल्चोक जिल्लाको राम्चे गाउँ विकास समितिको जुरेको पहिरोबाट अवरुद्ध सुनकोेसी नदीको बहाव सुचारु गर्न हालसम्म एक सयवटा विष्फोटन गराएको छ ।
गत साउन १७ गते सो क्षेत्रमा गएको पहिरोले सुनकोसी नदी अवरुद्ध हुन पुगेको थियो । करिब १० लाख टन ढुङ्गा, माटो र चट्टान खस्दा करिब ४२ मिटरको बाँध बन्न पुगेको थियो । बाँधको गहिराइ १९० मिटर बनेको थियो । करिब ८० लाख क्वुविक घनमिटर पानी जमेको थियो ।
साउन १८ गतेदेखि सेनाले गरिराखेको निरन्तर विष्फोटनका कारण पानीको सतह क्रमशः घटिरहेको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
कृत्रिम पानीको भित्री बहाव १९३ क्युसेक र बाहिरी पानीको बहाव २८१ क्युसेक रहेको र वैकल्पिक अस्थायी राजमार्ग द्रूतरुपमा निर्माण भइरहेको निर्देशनालयले जनाएको छ ।
यसैगरी साउनको अन्तिम साता परेको अविरल वर्षात्का कारण आएको बाढी तथा पहिरोको कारण उत्पन्न विपद् उद्धारका लागि नेपाली सेनाको उद्धार टोली बाढी तथा पहिरो प्रभावित क्षेत्रमा परिचालन भई राहत तथा उद्धार कार्य निरन्तररुपमा सञ्चालन गरिरहेको विज्ञप्तिमा जनाइएको छ ।
साथै, पोखरास्थित फेवातालको पारीपट्टि रहेको चिनियाँ स्तुपा जाने बाटोमा रहेको टिपिकल रेष्टुरेंन्ट पहिरोले क्षतिग्रस्त भएकामा नेपाली सेनाले उद्धार कार्य जारी राखेको छ । रासस
















प्रतिक्रिया