चितवन, ९ भदौ । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा डेढ महिनाअघि माओवादी सम्बद्ध विधार्थी र प्राध्यापकले लगाएको ताला सोमबार विधार्थीहरुले फुटाएका छन् ।
प्राध्यापक नियुक्तिका विषयमा असन्तुष्ट वनेका एमाओवादी र नेकपा–माओवादी निकटका प्राध्यापक र विद्यार्थीहरुले लगाएको ताला आक्रोशित विधार्थीहरुले फुटाएका हुन् ।
विश्वविद्यालयमा राजनीतिक दाउपेचका नाममा गरिएको भद्रगोलबाट पढाई र परिक्षा प्रभावित भएको भन्दै विद्यार्थीहरुले स्वतस्र्फूतरुपमा ताला फुटाएका हुन् ।
प्राध्यापक नियुक्ति एकतर्फीरुपमा गरिएको भन्दै दुई माओवादी सम्वद्ध प्राध्यापक र विद्यार्थीहरुले गएको असार १५ गतेदेखि विश्वविद्यालयमा ताला लगाउदै विश्वविधालयको पठनपाठन तथा दैनिक प्रशासनको कामकाज समेत ठप्प पारेका थिए ।
विश्वविद्यालयले नियम मिचेर प्राध्यापक नियुक्ति गरेको उनीहरुको आरोप छ । यता विश्वविद्यालयले भने कार्यकारी परिषदको निर्णय बमोजिम खुल्ला प्रतिस्पर्धाका आधारमा सवैलाई समान अवसरवाट वञ्चित नहुने गरि ‘मेरिट वेस’ प्रणालीका आधारमा प्राध्यापक नियुक्ति गरेको दावी गर्दै आएको छ ।
गोरखापत्र दैनिक र स्थानीय दैनिक पत्रिका, विश्वविधालयको सूचना पाटी र वेभसाइट मार्फत विज्ञापन आव्हान गरेको र नियम अनुसार नै प्राध्यापकहरु करारमा नियुक्ति गरेको विश्वविद्यालयको दाबी छ ।
विश्वविद्यालयले गएको साउन ९ गते मात्र गोरखापत्र दैनिकमा विज्ञापन प्रकाशन गरेको थियो । विश्वविधालयका डीन डा. डिल्लीराम वरालले आन्दोलरत पक्षले राजनैतिक भागवण्डाको माग उठाउदै आन्दोलन गरेकोले त्यसको अर्थ नरहेको बताउनु भएको छ ।
केही दिन अघि वार्ताको मौका छोपी माओवादी सम्वद्ध विद्यार्थीहरुले डीन वराल माथि गालीगलौज गर्दै आक्रमणको प्रयाससमेत गरेका थिए । विश्वविद्यालयमा झण्डै ४ सय ५० भन्दा बढी विद्यार्थीहरु बिभिन्न संकायमा अध्ययनरत छन् । विश्वविद्यालयमा ४० जना प्राध्यापक तथा प्रोफेसर रहे पनि, विश्वविद्यालय कार्यकारी परिषदका ६ जनाले अध्यापन गराउँदैनन् । १ सय १२ जनाको दरवद्धी रहेपनि प्राध्यापकहरुको अभाव विश्वविद्यालयमा रहँदै आएको छ ।
विश्वविधालय कार्यकारी परिषदले गएको असार ११ गते विभिन्न विभागमा ११ जना प्राध्यापकहरु करारमा नियुक्त गर्ने गरी खुल्ला विज्ञापन प्रकाशन गरेर आव्हान गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयपछि माओवादी निकटका प्राध्यापक र कर्मचारीहरुले अघोषित रुपमा भागवण्डाको माग गर्दैै असार १५ गतेवाट आन्दोलन थालेका हुन् ।
करार नियुक्ति प्रकृया शुरु हुनु भन्दा अघि नै माओवादी निकटका कर्मचारी तथा प्राध्यापकहरुले विश्वविद्यालयमा ताला लगाएपछि अन्य प्रशासनिक काम अवरुद्ध हुदै आएको छ भने, विधार्थीहरुको पढाई समेत प्रभावित हुदै आएको थियो ।
















प्रतिक्रिया