पोखरा, ८ भदौ । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले नेपाली काँग्रेसलाई गुटैगुटले भरिएको पार्टीको संज्ञा दिनुभएको छ ।
नेपाल प्रेस युनियन कास्कीले आइतबार पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य कोइरालाले काँग्रेस गुटैगुटले भरिएको पार्टी भएकोले गुट उपगुटको भावना राख्ने जो कोहीको पनि उन्नति नहुने चेतावनी दिनुभयो ।
नेत्री कोइरालाले सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेबीच कुनै विवाद नरहेको र दुवै मिलेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाँले राजनीतिक स्थायित्व, नयाँ संविधान जारी गर्न र विकासका लागि यी दुई पार्टी नमिली सुख्खै छैन भन्नुभयो ।
कार्यक्रममा सभासद्हरु यज्ञबहादुर थापा, जीवन परियार, शारदा पौडेलले तोकिएको समयमै नयाँ संविधान जारी हुने विश्वास दिलाउनुभयो ।
युनियनका सभापति शिरोमणि बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति माधव रेग्मी र सचिव प्रकाशचन्द्र सापकोटाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
समारोहमा यही भदौ २१ र २२ गते हुने नेपाल प्रेस युनियनको महाधिवेशन सम्पन्न गर्न सभासद् शारदा पौडेलले रु २५ हजार र सीता गुरुङले रु पाँच हजार ५०० सहयोग गर्नुभएको थियो ।
















प्रतिक्रिया