बर्दिवास, ८ भदौ । संविधानसभा सदस्य (सभासद्) एवम् एकीकृत नेकपा (माओवादी) का सचिव गिरिराजमणि पोखरेलले संविधान निर्माणमा आफ्नो दलको प्रतिपक्षी भूमिका नहुने प्रष्ट्याउनुभएको छ ।
महोत्तरी जिल्लाको बाढीग्रस्त क्षेत्रमा भएको राहत तथा उद्धार कार्यको अनुगमनपछि सदरमुकाम जलेश्वरमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा आफ्नो धारणा राख्दै सभासद् पोखरेलले आफ्नो पार्टीले राष्ट्रिय कार्यभारको मुख्य जिम्मेवारी नै संविधान निर्माण रहेको ठहर गरेकाले यस कार्यमा दलहरुबीचको सहमतिबाट अघि बढ्ने बताउनुभयो ।
हालैको वर्षा र बाढीबाट भएको क्षतिको न्यूनीकरण, उद्धार, व्यवस्थापन र राहत कार्यक्रममा पनि आफ्नो दलले प्रतिपक्षी नभएर सहमतीय बाटो अवलम्बन गर्ने पोखरेलको भनाइ थियो ।
यसपालि साउन अन्तिम साताको वर्षासँगैको बाढीले सबैभन्दा बढी सडक, कुलो र पुलपुलेसा नोक्सान गरेको सभासद् पोखरेलले बताउनुभयो ।
घरबारविहीन भएका परिवारको पुनःस्थापना र बिग्रेका संरचनाहरुको पुनःनिर्माणको कार्य भने निकै सुस्त देखिएको उहाँको भनाइ थियो । कार्यक्रममा सोही दलका नेता एवम् सभासद्हरु निशा शाह, लालेन्द्रकुमार मण्डल, दलका केन्द्रीय सदस्यहरु राजु खड्का र तुलसीप्रसाद ढुङ्गानासहितका नेताहरुको उपस्थिति थियो ।
कार्यक्रममा पत्रकारहरुको जिज्ञासामा तीनैजना सभासद्हरुले दलहरु गम्भीरताका साथ सहमति गर्दै अघि बढेकाले माघ ८ भित्रै संविधान घोषणा हुने विश्वास दिलाउनुभएको थियो । रासस
















प्रतिक्रिया