तनहुँ, ८ भदौ । कुनै समयमा जनताको दुःखसुखमा साथ दिँदै विकास र शान्तिका आश्वासन दिँदै हिँड्ने तनहुँकी पूर्व सभासद् हसिना बेगम यतिबेला आफैँ प्राकृतिक विपद्बाट प्रभावित बन्नुभएको छ ।
सेतीनदी कटानले घरमा धाँजा फाटेपछि शुक्लागण्डकी नगरपालिका वडा नं ३ निवासी बेगम अहिले त्रिपालमूनि दिन बिताउन बाध्य हुनुभएको छ ।
नदी कटानले ३४ घर बस्ती नै जोखिममा परेपछि नगरपालिका कार्यालयले सोही ठाउँस्थित पञ्चमूनि उमाविको खाली रहेको करिब पाँच रोपनी जग्गामा पाल टाँगेर १७ जना परिवारलाई स्थास्तानान्तरण गरेको हो । सेती नदीबाट ३४ घरपरिवार जोखिममा परे पनि हाल १७ परिवारलाई सुरक्षित स्थानमा सारिएको र अन्य भने आफन्तको शरणमा गएको पूर्व सभासद् हसिना बेगमले जानकारी दिनुभयो ।
सोही स्थानमा चुरा पोते बिक्री गरेर जीविकोपार्जन गर्दै आउनुभएकी पूर्व सभासद् बेगम अहिले बेलचौतरास्थित देवरको घरमा सामान राखेर त्रिपालमुनि बस्नुभएको छ ।
उहाँले सरकारले यहाँको समस्या समाधानका लागि दीर्घकालीन योजना बनाउनुपर्ने बताउनुभयो । पूर्व सभासद् हसिना बेगम २०६४ सालमा एमाले पार्टी तनहुँबाट सभासद् बन्नुभएको थियो । रासस
















प्रतिक्रिया