काठमाडौं, ७ भदौ । नेपाल विद्यार्थी सङ्घले भदौ २९ गतेदेखि हुने महाधिवेशनका लागि आफ्नो तयारी तीव्र बनाएको छ ।
महाधिवेशनका सन्दर्भमा विभिन्न ६३ वटा जिल्लामा क्षेत्रीय तथा जिल्ला अधिवेशन सम्पन्न गरेको सङ्घले बाँकी जिल्लामा अधिवेशनको प्रक्रिया अघि बढाइसकेको हो ।
सङ्घका प्रवक्ता युपी लामिछानेका अनुसार अधिवेशन गर्न बाँकी र विवाद रहेका जिल्लाहरुमा आपसी सहमतिका आधारमा अधिवेशनको प्रक्रिया अघि बढाइसकिएको छ ।
महाधिवेशनका लागि बाँकी जिल्लामध्येको काठमाडौं जिल्लाका सबै क्षेत्रको अधिवेशन सम्पन्न भइसकेको र जिल्ला अधिवेशन केही दिनभित्रमै गर्ने लक्ष्य राखिएको छ ।
ललितपुर जिल्लाको अधिवेशन सम्बन्धमा उक्त जिल्लामा रहेको विवादलाई छलफलका माध्यमबाट अन्तिम किनारा लाग्न लागेको लामिछानेले बताए ।
पटकपटक सर्दै आएको नेवि सङ्घको महाधिवेशनलाई यसपटक भने अनिवार्य रुपमा सम्पन्न गर्ने गरी पार्टीद्वारा गठित निर्देशक समिति र नेवि सङ्घ केन्द्रीय समिति सक्रिय रुपमा लागेको छ ।
महाधिवेशनको कार्ययोजनाअनुसार काठमाडौंको वाल्मीकि क्याम्पस परिसरमा उद्घाटन गरी त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुरमा बन्दसत्रको कार्यक्रम गरिने भएको छ ।
महाधिवेशनको प्रचारप्रसारका लागि विगतमा पर्चा, पम्प्लेट तथा बालपेन्टिङको प्रयोग गर्ने गरिएकामा आसन्न महाधिवेशनमा प्रचारको शैलीमा परिमार्जन गर्दै वातावरणीय स्वच्छताका लागि पर्चा, पम्प्लेट तथा बालपेन्टिङ नगरिने भएको प्रवक्ता लामिछानेले जानकारी दिए ।
प्रचारप्रसारका लागि विद्युतीय प्रचार माध्यमको प्रयोग गर्ने तथा आवश्यकताअनुसार प्रयोगपछि तत्काल हटाउन सकिने किसिमले फ्लेक्स बोर्डहरु राखिने भएको छ ।
महाधिवेशनको तयारी खर्च पार्टीका तर्फबाट व्यवस्थापन गरिने र त्यसका नाममा सङ्घबाट चन्दा तथा सहयोग नउठाइने भएको उनले बताए ।
महाधिवेशनको तयारीका लागि सङ्घले विभिन्न जिम्मेवारीसहित १५ वटा उपसमिति गठन गरेकामा ती उपसमिति सक्रिय रुपमा लागेका छन् ।
महाधिवेशलाई अनिवार्य रुपमा सम्पन्न गर्नका लागि पार्टीद्वारा गठित नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंह संयोजक रहेको निर्देशक समितिको हप्तामा न्यूनतम दुई दिन बैठक बस्ने गरेको र नेवि सङ्घ केन्द्रीय समिति तथा उपसमितिहरुको बैठक दैनिक रुपमा बसेर काम अघि बढिरहेका कारण महाधिवेशनको माहोल उत्साहजनक रुपमा बढिरहेको बताइएको छ ।















प्रतिक्रिया