म्याग्दी, ७ भदौ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य (किरण)ले माओवादीलाई पाखा लगाएर नयाँ संविधान बन्न नसक्ने बताएका छन् ।
नेकपा–माओवादी म्याग्दीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले नयाँ राष्ट्रिय सहमति गरेर जनताको संविधान बनाउने प्रक्रियाको थालनी गरिनुपर्ने बताएका छन् ।
माओवादीको सहमतिविना संविधान बनाए आफुहरुलाई मान्य नहुने बताउँदै अध्यक्ष वैद्यले भने– ‘हाम्रो कुराको सुनुवाई भएको छैन अब आन्दोलन गर्नुको विकल्प छैन् ।’ अध्यक्ष वैद्यले नयाँ राष्ट्रिय सहमति कायम गरी मुलुकलाई सही दिशातिर लैजानुपर्नेमा जोड दिएका छन् । उनले जनयुद्धबाट स्थापित भएको राजनीतिक शक्तिलाई पाखा लगाएर संबिधान बन्नै नसक्ने बताए । राजनीतिक सहमति गरेर सर्वपक्षीय सम्मेलनमार्फत संविधान निर्माणका विषमा छलफल गर्नुपर्ने उनको भनाइ थियो ।
अहिलेको संविधानसभाबाट कुनैपनि हातलमा संविधान जारी हुन नसक्ने भएकाले त्यसलाई विघटन गर्नुपर्ने उनको भनाई छ । जनयुद्ध लडेर आएको ठूलो शक्तिको भावनालाई वेवास्ता गरेर संविधान जारी गरे आफुहरु नयाँ ढङ्गको आन्दोलन गर्न बाध्य हुने अध्यक्ष वैद्यले चेतावनी दिएका छन् ।
भारतले उर्जा व्यापारको नाममा नेपालको प्राकृतिक स्रोतसाधनमा हस्तक्षेप गर्न खोजेकाले उर्जा व्यापार र उर्जा विकास सम्झौता गर्न नहुने वैद्यको भनाइ छ । निर्यातमूखी जलविद्युत परियोजनाको अहिले आवश्यकता नभएको बताउँदै उनले भपे– ‘आफ्नो लगानीमा जलस्रोतको उपयोग गर्नुर्पछ, मुलुकलाई घाटा पुग्ने सम्झौता गर्नहुँदैन ।’ भेलामा पार्टीको आगामी कार्यदिशाको बारेमा कार्यकर्ताको विचार तथा सुझाव सङ्कलन समेत गरिएको बताइएको छ ।
म्याग्दी र बागलुङका जिल्लास्तरीय कार्यकर्ताहरुलाई म्याग्दीको बेनीमा आयोजना गरिएको भेलामा प्रशिक्षण दिनका लागि अध्यक्ष वैद्यलगायतका नेताहरु बेनी आएका हुन् । भेलामा आगामी कार्यदिशा, कार्यकर्ताले खेल्नुपर्ने भुमिका र मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे अध्यक्ष वैद्य, सचिव नेत्रविक्रम चन्द, देव गुरुङलगायतका नेताहरुले प्रशिक्षण दिएको नेकपा–माओवादी म्याग्दीका जिल्ला सेक्रेटरी ध्रुव घिमिरेले जानकारी दिए ।
















प्रतिक्रिया