प्रताप बानियाँ
म्याग्दी, ७ भदौ । म्याग्दी जिल्लाको पश्चिम दुर्गम भेगका विभिन्न ९ ओटा विद्यालयहरुलाई शैक्षिक सामग्रीहरु सहयोग भएको छ ।
‘दिगो सामुदायिक विकासका लागि अधिकार’ भन्ने नारासहित असल छिमेकीद्धारा सञ्चालित म्याग्दी सामुदायिक विकास परियोजनाद्धारा बाल शिक्षा शिक्षणका लागि शैक्षिक सामग्रीहरु सहयोग गरिएको हो ।
परियोजनाले पश्चिम म्याग्दीका मुना, मराङ, मुदी, लुलाङ र गूर्जा गरी ५ गाविसका ९ ओटा विद्यालयमा विभिन्न किसिमका शैक्षिक सामग्रीहरु सहयोग गरेको छ ।
धनजनता मावि मुना फलियागाउँ, जनविकास मावि मराङ, चन्द्रज्योती मावि मुदी खिबाङ, बुद्धिविकास मावि मुदी, लमसुङ मावि लुलाङ, जनकल्याण मावि गूर्जालगायतका विद्यालयहरुलाई शैक्षिक सामग्री उपलब्ध गराइएको हो ।
शैक्षिक सामग्रीहरुमा बाल विकास केन्द्रका लागि किटबक्स, सेतोपाटी, फेलेक्सकार्ड, म्याचिङबोर्ड उडन बाँस्केट, स्लेटबोर्ड, पिलरबक्स, विल्डिङ बलक्स, कलर टावर, हात्ती, खेलकुद तथा फलफुलबोर्ड लगायतका गरी ३१ प्रकारका कुल १ लाख ३४ हजार चारसय ६६ रुपैयाँ बराबरको सामग्री वितरण भएको परियोजनाले जनाएको छ ।
सामग्री हस्तान्तरण गर्दै म्याग्दीका जिल्ला शिक्षा अधिकारी बलराम तिमिल्सीनाले सामग्रीले बालबालिका तथा विद्यालयको शैक्षिक र भौतिक विकासमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा राख्नुभयो ।
उहाँले असल छिमेकीले जिल्लाको दुर्गम भेगमा कार्यक्षेत्र बनाएर कार्यक्रम सञ्चालन गर्नु सराह्रनीय भएको भन्दै सरकार नपुगेको ठाउँमा विभिन्न संघसंस्थाहरु पुग्नुपर्ने धारणा राख्नुभयो ।
त्यसैगरी परियोजना संयोजक जगदिशराम लोहारले ५ गाविसका १९ ओटा विद्यालयमा आफ्नो संस्थाद्धारा विभिन्न शैक्षिक गतिविधिहरु सञ्चालन गरिरहेको बताउनुभयो ।
उहाँले सो विद्यालयहरुका विभिन्न १ हजार १ सय १९ जना बालबालिकाहरुलाई स्पोन्सर गरिएको भन्दै पूर्वाधार निर्माण भएका विद्यालयलाई शैक्षिक सामग्री दिइएको जानकारी दिनुभयो ।
त्यसैगरी १९ मध्ये १६ विद्यालयमा बालक्लब गठन गरी उनीहरुलाई बालअधिकार तथा विभिन्न विषयहरुमा तालिम दिइएको कार्यक्रममा बताइएको छ ।
गत आर्थिक वर्षमा गूर्जा गाविसलाई जिल्ला शिक्षा कार्यालय म्याग्दीको आयोजना र असल छिमेकीको सहयोगमा पूर्ण साक्षर गाविस घोषणा गरिसकिएको छ ।
परियोजनाका स्याटालाईट अफिसर कृष्ण राउतको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षकलगायतको उपस्थिति रहेको थियो ।
















प्रतिक्रिया