काठमाडौँ, ६ भदौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशील कोइरालालाई सरकार सञ्चालनमा कमजोरी भएको भन्दै कढा आलोचना गरेकै भोलिपल्ट एमाले उपाध्यक्ष बामदेव गौतमले पनि प्रधानमन्त्री कोइरालाको आलोचना गर्नुभएको छ ।
उपप्रधान तथा गृहमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नु भएका गौतमले सरकार सञ्चालनमा कांग्रेसले दादागिरी देखाएको आरोप लगाउनु भएको हो ।
अखिल नेपाल किसान महासंघले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा गौतमले प्रधानमन्त्री भएको पार्टीको दादागिरी र घमण्डले समस्या भएको भन्दै प्रधानमन्त्री कोइरालाको आलोचना गर्नुभयो ।
अध्यक्ष ओलीले पनि बिहीबार प्रधानमन्त्री कोइरालालाई उहाँकै निवास बालुवाटारमा भेटी दुई दलबीच भएको सात बुँदे कार्यान्वयन नगरे सत्ता सहकार्य अघि बढ्न नसक्ने भन्दै कडा आलोचना गर्नुभएको थियो ।
ओलीले एमालेका मन्त्रीहरुको पछाडि कांग्रेसका मन्त्रीलाई सुराकीको रुपमा खटाइएको समेत आरोप लगाउनु भएको थियो । त्यसैको भोलिपल्ट प्रधानमन्त्री कोइरालापछिको दोस्रो बरियताका उपप्रधानमन्त्री गौतमले पनि आलोचना गर्नुभएको हो ।
गौतमले कार्यक्रममा सरकारको प्राथमिकता एकवर्षभित्र संविधान निर्माण गर्ने र त्यसपछि स्थानीय निर्वाचन गर्ने रहेको भन्दै घुमौरो पाराले दादागिरी देखाएर होइन सहकार्य गरेर अघि बढ्न आग्रह गरे । ‘नयाँ संविधान जारी हुनुभन्दा पहिले नै स्थानीय निकायको निर्वाचन गर्ने हो’-गौतमको भनाई थियो ।
















प्रतिक्रिया