काठमाडौँ, ६ भदौं । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्की त्यहाँ कार्यरत कर्मचारी र पत्रकार महासंघमाथि खनिएपछि भाँडभैलो सुरु भएको छ ।
कार्कीले रेडियो नेपाल कर्मचारी संघको दर्ता खारेजीका लागि श्रम कार्यालयमा पत्राचार गरेपछि त्यहाँको स्थिति तनावग्रस्त बनेको हो ।
कार्यकारी निर्देशक कार्कीमाथि बिभिन्न १४ बुँदे आरोप लगाउँदै आन्दोलनमा उत्रिएका कर्मचारीहरुको मागलाई सम्बोधन गर्नुको सट्टा उनी उल्टै कर्मचारीमाथि खनिएको आन्दोलनरत पक्षको दाबी छ ।
‘कार्कीलाई बिभिन्न आरोप लगाउदै रेडियो नेपाल प्रवेशमै रोक लगाइएको झोँकमा उनले कर्मचारी संघ र नेपाल पत्रकार महासंघ रेडियो नेपाल प्रतिष्ठान शाखा खारेजीको लागि पत्राचार गरेका हुन्,’ आन्दोलनरत एक कर्मचारीले भने ।
कार्कीले भने रेडियो नेपालमा कार्यरत बिभिन्न ६ ओटा कर्मचारी र पत्रकार संगठनले काममा अवरोध गरेकाले संघ संस्था खारेजीको लागि पत्राचार गरेको बताएका छन् ।
रेडियो नेपालमा क्रियाशील सात वटा संगठनहरुले आफूहरुले राजनीतिक नियुक्तिका आधारमा रेडियो नेपालमा कार्यकारी निर्देशक भएका सुरेशकुमार कार्कीले संस्थाको हानी नोक्सानी र कर्मचारीहरु माथि गरेको ज्यादतिका विरुद्धमा आवाज उठाएको बताएका छन् ।
७ संगठनले विज्ञप्ति जारी गरी रेडियो नेपालमा सार्वजनिक रुपमा आन्दोलन भई रहेको समयमा अधिकार क्षेत्रबाहिर गर्इ रेडियो नेपालका उपनिर्देशक वेदबहादुर कुवँरले पत्रमा हस्ताक्षर गरी पदको दुरुपयोग गरेर कार्यालयको वदनामी गरेका आरोप लगाएका छन् । उनीहरुले कुवँरलाई कडा भन्दा कडा कारबाही गर्न पनि माग गरेका छन् ।
विज्ञप्तिमा कर्मचारी संघका अध्यक्ष मनोज चौधरी, कर्मचारी युनियनका अध्यक्ष भरतप्रसाद घिमिरे, राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष विशाल अधिकारी, प्राबिधिक कर्मचारीका अध्यक्ष गिरिराज निरौला, पत्रकार महासंघका अध्यक्ष दुर्गा फुयाल, प्रेस चौतारीका अध्यक्ष धुव्र सापकोटा र प्रेस युनियनका अध्यक्ष शन्तोष रेग्मीले हस्ताक्षर गरेका छन् ।















प्रतिक्रिया