३० आश्विन २०८३, शुक्रबार

म्याग्दीमा गएको पहिरोले १५ परिवार विस्थापित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

myagdi_district-Map

म्याग्दी, ६ भदौ । म्याग्दी जिल्लाको भकिम्ली–९ चिन्नेचौरमा गएको पहिरोबाट १५ घरपरिवार विस्थापित भएका छन् ।

विगत ११ वर्षदेखि खस्न थालेको पहिरोबाट स्थानीय १५ घरधुरी पूर्ण रूपमा विस्थापित भएका हुन् । पहिरोले गत वर्ष सातवटा घरमा पूर्ण रूपमा क्षति पु(याएकामा यो वर्ष थप आठ घरमा क्षति पुराएको पहिरोपीडित भीम परियारले जानकारी दिनुभयो ।

अविरल वर्षाको कारण निरन्तर खस्न थालेको पहिरोले यो वर्ष बलबहादुर परियार, भीम परियार, हीरा परियार, शिव परियार, सीता परियार, लक्ष्मी परियार, विष्णु परियार र टेकबहादुर मल्लको घरमा पूर्ण रूपमा क्षति पुराएको उहाँले बताउनु भयो ।

पहिरोबाट विस्थापित भएकाहरू अहिले आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।

यसैबीच चिन्नेचौर पहिरोपीडितले राहतको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरूले सरकारी एवम् गैरसरकारी कार्यालयबाट उपलब्ध हुने राहत तुरुन्त उपलब्ध गराउन र केन्द्रीय राहतका लागिसमेत पहल गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका छन् ।

पहिरोपीडितले पुनर्वासको व्यवस्था, खेतीयोग्य जमिनमा क्षति पुगेकाले जीविकोपार्जन सुधारको कार्यक्रम ल्याउनसमेत माग गरेका हुन् ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले राहत एवम् पुनः स्थापनाका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । पहिरोले सो गाउँबाट अर्जुन माविमा अध्ययन गर्न जाने विद्यार्थी र सर्वसाधारणलाई समेत आवतजावत गर्न समस्या भएको स्थानीयवासीले बताएका छन् । रासस