२ कार्तिक २०८३, सोमबार

गर्भवती महिला र शिशुको नियमित स्याहारसुसार अब मोबाइलबाटै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pregnancy-issue

बागलुङ, ६ भदौं । गर्भवती तथा शिशु स्याहार र जाँचका लागि मोबाइल प्रविधिमा आधारित ‘सेफ सिम’ परियोजना सफल देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बागलुङले वन हर्ट र स्वाअन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा गत वर्षदेखि उक्त परियोजना सञ्चालन गरेको हो ।

गर्भवती भएदेखि सुत्केरी भएको २८ दिनसम्म महिला र नवजात शिशुको नियमित स्याहारसुसार र स्वास्थ्य जाँचका लागि ‘सेफ सिम’ प्रभावकारी बनेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सुरुमा जिल्लाका चार गाविसमा चलाइएको उक्त परियोजनाले सूचनाको सही व्यवस्थापन र अभिलेखन प्रणालीको माध्यमबाट नवशिशु कार्यक्रमको प्रभावकारिता बढाउने काम गरेको बताएको छ ।

कार्यक्रम लागू भएका गाविसमा स्वास्थ्य संस्थामा हुने प्रसूति दर बढेर ८० प्रतिशतमा पुगेको छ । एक वर्षको अवधिमा एउटा पनि मातृमृत्यु नभएको जनाइएको छ ।

परियोजना लागू भएका पैँयुपाटा, हटिया, बाटाकाचौर र बुर्तिवाङ गाविसका सबै महिला स्वयम्सेविकालाई ७७ वटा सफ्टवेयरजडित मोबाइल वितरण गरिएको छ ।

मोबाइलमा रहेको सफ्टवेयरमार्फत सम्बन्धित गाविसका गर्भवती महिलाको नाम र विवरण मोबाइलमा भित्रयाएका छन् ।

सोही दर्ताको आधारमै सफ्टवेयरले गर्भ जाँचको समय, प्रसूति हुने समय, सुत्केरी अवस्थामा आमा र शिशुको स्याहार तथा स्वास्थ्य जाँचका लागि सूचना दिने गरेको वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर दाहालले जानकारी दिनुभयो ।

मातृ तथा शिशु मृत्युदर घटाउन ‘सेफ सिम’ सहयोगी बनेको उहाँको धारणा थियो । स्वयम्सेविकाले मोबाइलमा प्राप्त सन्देश गर्भवती तथा सुत्केरी महिला कहाँ पुर्‍याउने गरेका छन् ।

मोबाइलले दिएको सूचनाकै आधारमा महिला समयमै गर्भ जाँच गराउने, प्रसूतिका लागि स्वास्थ्य संस्थामै जाने क्रम बढेको पाइएको छ ।

गर्भवती जाँच, शिशुको स्वास्थ्य अवस्था, खतराजन्य अवस्थाको सूचनाजस्ता महत्वपूर्ण सूचना मोबाइलबाटै स्वयम्सेविका कहाँ पुग्ने त्यसको दोहोरो पृष्ठपोषण र सूचना पनि आदानप्रदान हुने निर्देशक भट्टले जानकारी दिनुभयो ।

परियोजना सफल देखिएपछि जिल्लाभर समेटिने गरी सञ्चालनको तयारी गरिएको छ । आगामी वर्षका लागि युएन फाउन्डेसनले आर्थिक सहयोग गर्ने भएको छ । रासस