काठमाडौँ, ५ भदौ । विभिन्न जिल्लामा एमाओवादी नेता डा. बाबुराम भट्टराई पक्षधरले अध्यक्ष प्रचण्डलाई चुनौति दिँदै समानान्तर कमिटी बनाएको आरोप लागि रहेका बेला नेता भट्टराई निकट मानिने एक नेताले भने त्यसको खण्डन गरेका छन् ।
एमाओवादी नेता टोपबहादुर रायमाझीले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो खण्डन गर्नुभएको हो ।
‘देशका विभिन्न ठाउँमा डा। बाबुराम भट्टराई पक्षले नभर्इ अध्यक्ष पुष्पकमल दाहालले नै समानान्तर कमिटी चलाएका छन्’ उहाँले भन्नुभयो, ‘कतिपय ठाउँमा संस्थापन पक्षले एकलौटी ढंगले कमिटी बनाएको छ ।’
उहाँले अध्यक्ष प्रचण्डप्रति संकेत गर्दै समानान्तर कमिटी चलाउनेहरुमाथि कारबाही हुने चेतावनीसमेत दिनुभयो ।
त्यसैगरी उहाँले कार्यक्रममा बोल्दै कांग्रेस र एमालेकै कारण समयमै संविधान जारी हुनेमा आशंका बढेको जिकिर समेत गर्नुभयो ।
कार्यक्रममा कांग्रेस नेता दीपकुमार उपाध्यायले दलहरुबीच जारी वार्ताले तोकिएकै मितिमा संविधान जारी हुनेमा आशावादी हुने ठाउँ बनेको दाबी गर्नुभयो ।
एमाले नेता शंकर पोखरेलले कांग्रेसकै कारण अहिलेको सरकारले राम्रोसँग काम गर्न नसकेको दाबी गर्नुभयो ।
नेकपा–मालेका महासचिव सीपी मैनालीले ठूला दलहरु एकलौटी ढंगले अघि बढ्न खोजे निर्धारित मितिमा संविधान जारी हुन नसक्ने बताउनु भयो ।
















प्रतिक्रिया