काठमाडौँ, ५ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले एसियाली क्रिकेट काउन्सिलअन्तर्गत मलेसियामा सम्पन्न १६ वर्षमुनि उमेर समूहको क्रिकेट खेलमा अपराजित यात्रा कायम राखी विजेता बन्न सफल भएकामा नेपाली क्रिकेट टोलीलाई नेपाल सरकार र आफ्नो पार्टी नेपाली काँग्रेसका तर्फबाट बधाई ज्ञापन गर्नुभएको छ ।
प्रधानमन्त्री कोइरालाले बिहीबार नेपाली टोलीलाई दिनुभएको शुभकामना सन्देशमा भनिएको छ – ‘आफूले खेलेका सबै खेलमा प्रतिस्पर्धी टीमलाई फराकिलो अन्तरले पराजित गर्नु निकै गौरवको विषय हो । नेपाली क्रिकेट टीमले विदेशी भूमिमा भएको अन्तर्राष्ट्रिय खेलमा यस्तो कीर्तिमान कायम गरेर मुलुकको प्रतिष्ठा अभिवृद्धि गरेको छ । म यस सुखद क्षणमा क्रिकेट प्रतियोगितामा विजयी बनी नेपाल र नेपालीको गौरव अभिबृद्धि गराउनुभएकामा नेपाली टिमका कप्तान, टिमका सबै खेलाडी र प्रशिक्षकको खेलप्रतिको समर्पणको उच्च कदर गर्न चाहन्छु ।’
पछिल्लो समयमा नेपाली क्रिकेट टीमले प्राप्त गरेको सफलताले आफूलाई निकै उत्साही र रोमाञ्चित बनाएको बताउँदै प्रधामन्त्री कोइरालाले सन्देशमा भन्नुभएको छ – ‘यस अवसरमा क्रिकेट खेलमा समर्पित सम्पूर्ण खेलाडीलाई यो उत्साह अझ बढाएर नेपालको प्रतिष्ठा झन् उँचो बनाउन पनि हार्दिक आग्रह गर्दछु ।’
उहाँले क्रिकेटको संस्थागत विकासमा समर्पित रहनुभएका नेपाल क्रिकेट सङ्घका संस्थापक र हालसम्म यसलाई सफलतापूर्वक निरन्तरता दिने पदाधिकारीसहित सदस्यहरूलाईसमेत धन्यवाद दिनुभएको छ ।
एसियाली क्रिकेट परिषद्को आयोजनामा मलेसियामा सम्पन्न १६ वर्षमुनि उमेर समूहको खेलमा हिजो मलेसियालाई हराउँदै नेपालले उपाधि जितेको थियो । रासस
















प्रतिक्रिया