बिहीबार, २७ चैत २०७६
DainikNepal.com
बिहीबार, २७ चैत २०७६

महिला अगाडि नबढेसम्म राष्ट्रको विकास हुँदैन : राष्ट्रपति यादव

दैनिक नेपाल २०७१ भदौ ५ गते १५:०४

ram-baran-yadav

लतिलपुर, ५ भदौ । राष्ट्रपति डा. रामवरण यादवले समाजमा महिला अगाडि नआएसम्म राष्ट्रकोे समग्र विकास हुन नसक्ने बताउनुभएको छ ।

बेइजिङ+२० राष्ट्रिय महिला सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले समाज र राष्ट्र विकासमा महिला र पुरुष दुवैको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

राष्ट्रपति डा. यादवले भन्नुभयो – “महिला अधिकार र सशक्तीकरणका लागि विश्व महिला सम्मेलनदेखि लिएर धेरै छलफल भएका छन् तर महिला अधिकारको विषयमा अझै धरै काम गर्न बाँकी छ ।”

चीनको राजधानी बेइजिङ्मा सम्पन्न चौथो विश्व महिला सम्मेलनपछि महिला जागरण र उनीहरुको हकअधिकारका लागि गाउँगाउँसम्म पनि आवाज उठाउन थालिएको बताउँदै उहाँले बेइजिङ सम्मेलनले तय गरेका सवालहरू अहिले पनि उत्तिकै सान्दर्भिक छ भन्नुभयो ।

महिलालाई अगाडि बढाउन राजनीतिमा उनीहरुको अर्थपूर्ण सहभागिता जरुरी रहेको बताउँदै राष्ट्रपति डा. यादवले भन्नुभयो – महिला हिंसा न्युनीकरणका लागि ‘दु्रत कानुनी सेवा’ र पीडितको संरक्षण, पुनःस्थापना, आश्रय स्थलको स्थापना गर्न सरकार र सरोकारवाला निकाय जिम्मेवार भएर लाग्न जरुरी छ ।

महिलामैत्री कानुन निर्माणका लागि नेपालमा घरेलु हिंसा, मानव बेचविखनलगायतका अपराध नियन्त्रणका लागि ऐन बने पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा महिलाले आफ्नो हकअधिकार उपयोग गर्न नपाएको उल्लेख गर्दै उहाँले महिला सम्मेलनले महिला र लैङ्गिक समानताका लागि मागदर्शन र ठोस परिणाम ल्याउने विश्वाससमेत व्यक्त गर्नुभयो ।

महिला , बालबालिका तथा समाजकल्याण मन्त्री निलम केसी (खड्का) ले महिला हिंसा अन्त्यका लागि विभिन्न कदम चालिए पनि पुरातनवादी सोचका कारण महिला आज पनि उत्तिकै पीडित अवस्थामा रहेको बताउनुभयो ।

हिंसामा परेका महिलालाई उद्धार गरी राज्यको मूल प्रवाहमा ल्याउन मन्त्रालय लागि परेको बताउँदै उहाँले सदनमा बोक्सी र यौनजन्य हिंसासम्बन्धी विधयेक प्रस्तुत गरिएको जानकारी दिनुभयो ।

युएन वुमनका राष्ट्रिय प्रतिनिधि जियाद शेखले महिला असमानता र हिंसा नेपालमा मात्र नभएर विश्वमै व्याप्त रहेका भन्दै महिलाको समानताका लागि सहभागिता र सशक्तीकरणको जरुरी भएको बताउनुभयो ।

बियोन्ड बेइजिङ कमिटीका अध्यक्ष शान्तालक्ष्मी श्रेष्ठले महिला सम्मेलनले नेपालको महिला आन्दोलनमा अहिलेसम्म भएका उपलब्धिमा खुसी मनाउँदै आगामी पाँच वर्षका लागि भावी दिशा तय गर्ने बताउनुभयो ।

बेइजिङ पुनरावलोकनका लागि राष्ट्रिय सञ्जालका संयोजक बन्दना राणाले सम्मेलनले विगत पाँच वर्षमा भएको प्रगतिको समीक्षा र विद्यमान चुनौतीको सामनाबारे व्यापक छलफल गर्ने बताउनुभयो ।

सो अवसरमा महिला अधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुभएका तीन अग्रणी महिला अधिकारवादी अङ्गुरबाबा जोशी, तुला राणा र डा. मीना आचार्यलाई राष्ट्रपति यादवले सम्मान गर्नुभएको थियो ।

सम्मानित महिला अधिकारकर्मी जोशी, राणा र आचार्यले विगतमा गरेको कामको मूल्याङ्कन गर्दै सम्मान गरेकामा खुसी व्यक्त गर्नुभएको थियो ।

सोही अवसरमा सहभागीका तर्फबाट तृप्ता लुंगेली मगरले आफू अपाङ्ग भएर पनि महिला जागरण र सशक्तीकरण अभियानमा सक्दो काम गर्दैआएको अनुभव सुनाउनुभएको थियो ।

बियोण्ड बेइजिङ कमिटी र बेइजिङ पुनरावलोकनका लागि राष्ट्रिय सञ्जालको आयोजना तथा महिला अधिकारको क्षेत्रमा काम गर्ने एक दर्जनभन्दा बढी संस्थाको सहयोगमा आजदेखि ललितपुरको स्टाफ कलेजमा सुरु भएको यो सम्मेलनमा ७५ जिल्लाका करिब ३०० महिला अधिकारकर्मीको सहभागिता छ ।

‘मानवताका लागि महिला सशक्तीकरण : व्यवहारमा उतारौँ’ भन्ने नाराका साथ सन् २०१५ को मार्च ९ देखि २० तारिखसम्म भएको राष्ट्रसङ्घ महिला अधिकारसम्बन्धी समितिको ५९ औँ बैठकमा बेइजिङ सम्मेलनपछिको २० वर्ष अवधिको सिंहवालोकन गर्दै नेपालको महिलाका अवस्थाबारे प्रतिवेदन तयार पार्न सम्मेलन आयोजना गरिएको हो । रासस

प्रतिक्रिया
सम्बन्धित