३० आश्विन २०८३, शुक्रबार

बाढी प्रभावित क्षेत्रमा आँखा पाक्ने, टाइफाइड र पखालाको सङ्क्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhangadi-badi

धनगढी, ५ भदौ । एक हप्ताअघि देखिको बाढी र डुबानको समस्याबाट प्रभावित कैलाली जिल्लाको पूर्वी क्षेत्रमा विभिन्न रोगको सङ्क्रमण देखिन थालेको छ ।

रोगको सङ्क्रमण देखिन थालेपछि औषधिसहितको स्वास्थ्यकर्मीको टोली रोग प्रभावित क्षेत्रमा परिचालन गरिसकिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख जयबहादुर कार्कीले बुधबार मात्रै बाढी र डुबान प्रभावित क्षेत्र धनसिंपुर, मुनुवा, भजनी, थापापुर, जोशीपुर, बौनियालगायतका क्षेत्रमा स्वास्थ्यकर्मीको टोलीले झन्डै ४०० बिरामीको उपचार गरेको जानकारी दिनुभयो ।

ती क्षेत्रका बासिन्दामा आँखा पाक्ने, भाइरल ज्वरो, टाइफाइड, पखाला, आउँमासी, छालासम्बन्धी रोगको सङ्क्रमण देखिन थालेको छ ।

स्वास्थ्यकर्मीको टोलीले रोगको सङ्क्रमणबाट बढी प्रभावित क्षेत्रका वडामा नै पुगेर बिरामीको उपाचार सुरु गरेको छ । रोगबाट कम प्रभावित अन्य क्षेत्रका बिरामीको भने सम्बन्धित क्षेत्रका स्वास्थ्य चौकीमार्फत उपचार थालिएको जनाइएको छ ।

प्रभावित क्षेत्रमा रोगको प्रकोप फैलिन नदिन उच्च सतर्कता अपनाएको र यस क्रममा स्वास्थ्यसम्बन्धी चेतनामूलक क्रियाकलाप पनि सुरु गरिएको कार्कीले बताउनुभयो ।

बाढी र डुबानपछि प्रभावित क्षेत्रमा खानेपानीको स्रोत प्रदूषित भई खानपिनमा ध्यान नदिएको र आवासमा देखिएको समस्याका कारण रोगको सङ्क्रमण देखिएको जनाइएको छ ।

यसैबीच बाढी प्रभावित कैलालीको कौवापुर क्षेत्रमा वितरित खानेपानीको पाइपलाइन बाढीले बगाएर क्षति पुर्‍याएपछि सो क्षेत्रमा खानेपानीको अभाव भएको स्थानीयवासीले बताएका छन् ।

पाइप लाइन बगाएर धारामा पानी आउन छाडेपछि सो क्षेत्रका झन्डै दुई हजार घरधुरीलाई खानेपानीको समस्या भएको हो ।

कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा उर्लिएर आएको बाढी कैलालीको पूर्वी क्षेत्रका बस्तीमा पसेपछि ती क्षेत्रका दुई हजार ६१४ घरपरिवार प्रभावित भएकामा यीमध्ये एक हजार ७४५ घरपरिवार विस्थापित थिए । विस्थापित अहिले पुनः घर फर्किसकेका छन् ।

यस्तै ११ घरमा पूर्ण रूपमा क्षति र १४५ घरमा आङ्शिक क्षति पुगेको छ । कर्णाली नदीमा पहिलोपटक सबैभन्दा ठूलो बाढी ९खतराको चिह्नभन्दा निकै माथि आएपछि स्थानीय प्रहरी प्रशासनद्वारा अपनाइएको सतर्कताका कारण मानवीय क्षति भने त्यति हुन नपाएको हो ।

स्थानीय पथरैया नदी तर्ने क्रममा थापापुरका ६५ वर्षीय लालबहादुर धामीको बगेर मृत्यु भएको थियो भने कर्णालीले बगाएर ल्याएका थप दुई शवको सनाखत हुन नसकेपछि खाल्डोमा गाडिएको थियो ।

बाढी र डुबानबाट पुगेको क्षतिको विस्तृत अध्ययन सर्वेक्षणको काम भने रेडक्रस, नेपाल प्रहरी, गाविस सचिव र स्थानीय प्रशासनका प्रतिनिधि सम्मिलित संयुक्त टोलीले जारी राखेको छ । रासस