सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

सुनकोसीको कृत्रिम ताल छिटो खोल्न भूगर्वविद्को सुझाव

दैनिक नेपाल २०७१ भदौ ४ गते १८:२२

Sunkosi

काठमाडौँ, ४ भदौ । सुनकोसी ताललाई जलविद्युत तथा पर्यटन क्षेत्रमा उपयोग गरिन नहुने भूगर्वविदहरूले सुझाव दिएका छन् ।

ताल तत्काल फुट्ने संभावना अत्यन्त न्यून छ, यसो भन्दैमा ताललाई अन्य प्रयोगमा ल्याउने योजनाको कल्पना गर्नुहुन्न, तालको पानीलाई सुरक्षित रुपमा खोेल्नु नै सही काम हो– उनीहरूको भनाइ थियो ।

सिन्धुपाल्चोक जिल्लाको राम्चे गाउँ विकास समितिको जुरेमा साउन १७ गते गएको पहिरोका कारण सुनकोसी नदी थुनिएको थियो । नेपाली सेनाका प्राविधिक सेनानी डा रामचन्द्र तिवारीका अनुसार सो पहिरोबाट दस लाख टन ढुङ्गा, माटो र चट्टान नदीमा थुप्रिएको छ । यसबाट नदीमा ४२ मिटर चौडाइको बाँध बनी करिब ८० लाख क्युसेक घनमिटर पानी जम्मा भएको छ । तालको गहिराई १९० मिटर रहेको छ । तालको लम्बाइ करिब दुई किलोमिटरसम्म फैलिएको छ ।

पहिरो विषयमा विद्यावारिधि गर्नुभएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा रञ्जनकुमार दाहालले भन्नुभयो, ‘खाडिचौरदेखि बाह्रविसे क्षेत्र पहिरोको जोखिमयुक्त भएको विगतमा हामीले गरेको अनुसन्धानले देखाएको थियो । यसअघि स–साना पहिरो पनि त्यस क्षेत्रमा गएका थिए । त्यो प्रतिवेदन इसिमोड र सरकारलाई पनि दिएका थियौँ तर कार्यान्वयन गरिएन ।’

‘अहिले जम्मा भएको तालको पानीले त्यस क्षेत्रको भूगर्वलाई असर पारेको छ । तत्काल बाँध फुट्ने संभावना कम छ तर जोखिम कायमै छ’ उहाँले भन्नुभयो ।

नेपाली सेनाले अहिले पानीको बहाव घटाउन र वैकल्पिक मार्गद्वारा बाह्रविसेलाई जोड्न युद्धस्तरमा काम गरिरहेको छ । १५ मिटर पानी घटाउने नीति सेनाले बनाएको छ ।

यसो गर्दा ढुवानमा परेको सानिमा जलविद्युत आयोजना र राजमार्ग देखिन्छ– विपद् व्यवस्थापन निर्देशनालयका सहायक रथी सुरेश शर्माले भन्नुभयो ।

पहिरोले कोदारी राजमार्गको सातसय मिटर सडक बगाएको छ भने करिब एककिलोमिटर ताल डुबानमा परेको छ । बाँध फुटाउनका लागि सेनाले दुईवटा एक्जाभेटर सो स्थलमा पु¥याई काम गरिराखेको छ । एक्जाभेटर र विष्फोटनका माध्यमबाट बाँध फुटाउने काम भइरहेको प्राविधिक सेनानी डा तिवारीले जानकारी दिनुभयो ।

बाँधस्थलमा वैकल्पिक बाटो पु¥याउन करिव सातसय मिटरमात्र बाँकी रहेको र एक दुई दिनमा सो कार्य सम्पन्न हुने इञ्जिनियरिङ निर्देशनालयका सहायक रथी विजेन्द्र गौतमले जानकारी दिनुभयो ।

बाँधस्थलमा बाटो पुगेपछि थप एक्जाभेटर लान र बाँध खुलाउन सहयोग पुग्नेछ ।

अर्काेतर्फ खाडिचौर–बाह्रविसे वैकल्पिक मार्गअन्तर्गत टेकनपुरदेखि धुसकुनसम्मको ११ किलोमिटर बाटो सञ्चालनका लागि काम भइराखेको र भदौ महिनाभित्रमा बाटो सञ्चालनमा आउने सेनाले जनाएको छ ।

‘हामीले तालको पानीलाई सुरक्षित रुपमा बहाव गराई पूर्ववत अवस्थामा फर्काउन सरकारलाई सुझाव पनि दिएका छौँ’–भूगर्वविद् डा दाहालले भन्नुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित