काठमाडौं, ३ भदौ। काभ्रेली समूहका नाममा गुण्डागर्दी चलाउँदै आएका गुण्डा नाइकेलाई छुटाउन काँग्रेस सभासद्ले दबाब दिएका छन् ।
काभ्रे क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित नेपाली कांग्रेसका सभासद् तीर्थ लामाले प्रहरी हिरासतमा रहेका गुण्डा नाइके दावा लामालाई छुटाउन दबाब दिएका हुन् । सभासद् लामाले दावालाई छुटाउन मंगलबार हनुमानढोका पुगेका थिए । तर, प्रहरी उनका दबाबका सामु झुकेन ।
दावालाई किन पक्राउ गरियो भन्दै हनुमानढोका पुगेका सभासद् लामालाई प्रहरीले त्यसै फर्काइदिएको थियो । गुण्डा दावालाई प्रहरीले सोमबार साँझ काठमाडौंको बौद्धबाट पक्राउ गरेको थियो । दावामाथि जबरजस्ती चन्दा, अपहरण र ज्यान मार्ने उद्योगसहितका गम्भीर अभियोगहरु छन् । लामाका साथबाट प्रहरीले १४ ग्राम खैरो हेरोइन लागूऔषध पनि बरामद गरेको जनाएको छ ।
लामालाई अहिले लागु औषधलगायतका गम्भीर प्रकृतिका घटनामा सम्लग्न रहेको आरोपमा अनुसन्धान अघि बढाएको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले दैनिक नेपाललाई जानकारी दिनुभयो ।
‘लामाले लागु औषध कारोवार गरेको, मारवाडी समूदायका व्यक्तिलाई अपहरण गरेर जवरजस्ती कागज गराएर पैसा असुलेको, व्यापारीलाई खुकुरी प्रहार गरेको जस्ता अपराध गरेको अनुसन्धानका क्रममा फेला परेको छ,’ अपराध अनुसन्धान महाशाखाका प्रमुख पुष्कर कार्कीले भन्नुभयो, ‘लामा चरी जस्तै माथिल्लो तहको गुण्डा हो, यसलाई कारवाही प्रक्रिया अघि बढाएका छौँ ।’
लामाको समूहले ललितपुरको सुनाकोठी ८ निवासी ३४ वर्षीय राजन श्रेष्ठलाई एक वर्षअघि खुकुरी हानेपछि लामा फरार थिए ।
यसैगरी, डेढ वर्षअघि व्यापारी सुनील अग्रवालबाट पनि लामाको समूहले ११ लाख ५० हजार रुपैयाँ लुटेको प्रहरीले बताएको छ ।














प्रतिक्रिया