काठमाडौं, ३ भदौ । पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवालको आत्मकथा सार्वजनिक भएसँगै माओवादी अध्यक्ष प्रचण्ड र कटवालबीच आरोप–प्रत्यारोपको श्रृंखला सुरु भएको छ ।
पूर्व प्रधानसेनापति कटवालको आत्मकथालाई अध्यक्ष प्रचण्डले इतिहासकै ‘वाहियात’ भनेर आरोप लगाउनु भएको छ ।
कटवालले आत्मकथा सार्वजनिक भएपछि सामाजिक सञ्जाल मार्फत आफु प्रधानसेनापति रहेका बेला राष्ट्रिय अस्मितामाथि प्रहार हुन नदिन आफुले योजनाबद्ध रूपमा सैनिक मञ्चमा एमाओवादीको सभा गर्न नदिएको खुलासा गर्नुभएको थियो ।
कटवालले त्यस्तो अभिव्यक्ति दिएकै भोलिपल्ट अध्यक्ष दाहालले आफ्नै निवास लाजिम्पाटमा मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै कटवालका कारण माओवादीको रौं पनि नहल्लिएको प्रतिक्रिया दिनुभएको छ ।
पुस्तक यथार्थ धरातलमा नभएको र कटवालले नौटंकी गरेको उहाँको आरोप छ ।
‘कटवाल एक मामुली अवसरवादी व्यक्ति हुन् भन्ने पुस्तकले प्रमाणित गर्छ,’ प्रचण्डले भन्नुभयो, ‘राजाको टीका थापेर गुणगान गाएर सेनाको उपल्लो ओहदामा पुगेका व्यक्तिले राष्ट्रिय अस्मिता बचाउने कुरा गर्नु हास्यास्पद छ ।’
कटवाल शिकारीका रुपमा प्रयोग हुने मान्छे भएको भन्दै प्रचण्डले आफू प्रधानमन्त्री र कटवाल सेनाका प्रमुख हुँदा उनीसँग त्यही हिसावको कुराकानी भएको पनि बताउनु भयो ।
कटवालले प्रधानसेनापतिबाट हटाउने प्रयास गर्दासमेत आफुलाई राजदूतको प्रस्ताव गरेको तर, आफूले राजदूत त के इन्द्रको आसन दिए पनि चाहिन्न भनेर आत्मकथामा उल्लेख गरेको कुरालाई पनि प्रचण्डले नौटंगीको संज्ञा दिनुभयो । ‘
प्रचण्डले आफू प्रधानमन्त्री हुँदा नागरिक सर्वोच्चताको पक्षमा कदम चाल्दा कटवालले असहयोग गरेको पनि गुनासो गर्नुभयो ।
















प्रतिक्रिया