
पेरिस, २ भदौ । पेरिसमा साउदी राजकुमार वाल वालिद बीन तलाल लुटिएका छन ।
उनी चढेको गाडीमा हतियाधारी लुटेराले आक्रमण गरी दुई लाख ५० हजार युरो नगदका साथमा संवेदनशील कागजात लुटेको जानकारी फ्रान्सेली प्रहरीले सोमबार दिएको छ ।
आइतबार राती पेरिसको उत्तरी भागमा लुटपाट भएको हो । त्यतिबेला साउदी राजकुमारको गाडीहरु साँज एलिजेस्थित सुविधासम्पन्न होटेलबाट विमानस्थल ल बुर्गेटतर्फ गइरहेको जानकारी प्रहरीले दिएको छ । यस घटनामा कोही पनि घाइते नभएको बताइएको छ ।
दुई बीएमडब्लु गाडीमा आएका लुटेराको सङ्ख्या पाँचदेखि आठजना रहेको बताइएको छ । उनीहरुले १० गाडीहरुको समूहका पहिलो गाडीलाई अपहरण गरी पछि उनीहरुलाई छोडिदिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी स्रोत तथा ल पारिजियाँ दैनिकले लुटेरासँग कालाश्निकोभ बन्दुक भएको उल्लेख गरेको छ । एक अधिकारीले पछि यी लुटेरासँग हाते बन्दुक भएको बताए ।
साउदी राजकुमारको मर्सेडेज र लुटेराहरुको बीएमडब्लु पेरिसको उत्तरपूर्वी भागमा अवस्थित सेन्ट मेसमेस गाउँको एक स्थानमा जलाइएको रुपमा फेला पारिएको थियो ।
प्रहरीले ५०० युरोका दुई नोट, अरेबी भाषाका कागजात तथा औषधिहरु जलेको गाडी नजिकै फेला पारेका थिए ।

ल पारिजियाँले लुटेराहरुले संवेदनशील कागजात आफूसँग लगेको जानकारी दिएको छ ।
अनुसन्धानमा नजिकका स्रोतले लुटेराले कूटनीतिक कागजात लुटेको बताए । हालसम्म ती कागजातको प्रकृतिको विषयमा विस्तृत विवरण थाहा हुनसकेको छैन ।
यस विषयमा पेरिसस्थिति साउदी दूतावासले केही पनि बोलेको छैन् ।
फ्रान्सेली विदेश मन्त्रालयका प्रवक्ता रोमेन नादालले यस विषयमा अनुसन्धान जारी रहको जानाकरी दिए ।
यो असामान्य आक्रमण भएको, लुटेराहरुलाई यस विषयमा पूर्ण जानकारी भएको र यस्तो कार्य गर्न निकै कठिन हुने एक प्रहरी स्रोतले बताए ।
हालसम्म यस विषयमा कसैलाई पनि पक्राउ गरिएको छैन ।
फ्रान्सको राष्ट्रिय प्रहरी युनियनका प्रमुख निकोलस कोम्टले लुटेराले पैसा वा कागजात के लुट्न खोजेको भन्ने विषयमा थाहा पाउनुपर्ने बताउनुभयो ।
उहाँले यस विषयमा साउदी अधिकारीहरुबाट पूर्ण सहयोग प्राप्त हुने अपेक्षा गरिएको बताउनुभयो । एजेन्सी















प्रतिक्रिया