काठमाडौं, २ भदौ । प्रधानमन्त्री सुशील कोइराला र मुलुकको तेस्रो ठूलो दल एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निस्क्रिय नभएको भन्दै आलोचना बढेपछि प्रधानमन्त्री कोइरालाले दलका नेताहरुसँग औपचारिक भेटवार्ता थाल्नुभएको हो । सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेट संविधान निर्माण, २६ जना सभासदको मनोनयन, संसदीय समितिका सभापति चयन र राजदुत नियुक्ती लगायतका विषयमा केन्द्रीत थियो ।
संविधान निर्माणमा देखिएका जटिलतालाई आपसी विश्वासका आधारमा टुङ्गो लगाउने र आपसी छलफल तथा वार्तालाई सघन बनाउने विषयमा दुई नेताबीच कुराकानी भएको बताइएको छ ।
यस्तै, सशस्त्र द्वन्द्वका क्रममा सहिद भएका, बेपत्ता पारिएका र अङ्गभङ्ग भएकालाई सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत कुनै सुविधाको घोषणा नगरेको भन्दै एमाओवादी अध्यक्ष दाहालले प्रधानमन्त्री कोइरालाको ध्यानाकर्षण गराउनुभएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो ।
यस्तै, सिन्धुपाल्चोकका पहिरो पीडित र मुलुकभर बाढी पहिरोका कारण समस्यामा परेका नागरिकलाई राहत र उद्धारलगायतको काममा ढिलाइ भएको भन्दै तत्काल राहतको व्यवस्था गर्न अध्यक्ष दाहालले आग्रह गर्नुभएको थियो ।
यसअघि आइतबार सिन्धुपाल्चोकका बाढीपीडितलाई भेट्न पुगेका प्रचण्डले प्रधानमन्त्री कोइरालालाई भेटी राहतका लागि पहल गर्ने आश्वासन पनि दिनुभएको थियो ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र अध्यक्ष दाहालबीच सोमबारै भेटवार्ता भएको छ । भेटवार्तामा संविधान लेखन प्रक्रिया र राजनीतिक दलहरुको भूमिकालगायतका विषयमा कुराकानी भएको थियो ।
यस्तै, सोही अवसरमा व्यवस्थापिका–संसद्का विभिन्न समितिको यही भदौ ४ गतेका लागि तोकिएको निर्वाचनलगायतका विषयमा कुराकानी भएको बताइएको छ ।
















प्रतिक्रिया