काठमाडौं, १ भदौ । श्रीकृष्ण जन्माष्टमी पर्व आज श्रीकृष्णको पूजा आराधना गरी धुमधामसँग मनाइँदैछ।
प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने यो पर्व ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म भएको दिनको सम्झना गर्दै मनाउने चलन छ ।
श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको पौराणिक कथा छ ।
कंसको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट विष्णुको आठौँ अवतारका रुपमा आजकै दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ।
आजको दिन पाटनको मङ्गलबजारस्थित श्रीकृष्ण मन्दिर, काठमाडौंको पूर्वी भेगस्थित गोठाटारमा रहेको नवतनधाम, बूढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृत सङ्घको मन्दिर, हाँडीगाउँस्थित पीपलबोटभित्र रहेको कृष्णमन्दिरलगायत तथा देशभरका अन्य कृष्ण मन्दिरमा पूजा आराधना एवम् रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ।
महिलाहरु व्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा गरी र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउने चलन पनि छ ।
















प्रतिक्रिया